ताजा घटना

९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना नियन्त्रणमा


१६ भाद्र २०७८, बुधबार ००:००


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेशिनबाट पार भएर काठमाडौँ भित्रिएको ९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना विदेशी लागु औषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामाले भदौ ३ मा २ किलो ९६६ ग्राम कोकिन काठमाडौँ ल्याएकी थिइन् ।

तस्कर समूहले सो कोकिन भारत लाँदै थिए । भारतको नयाँ दिल्लीमा कोकिन कुरेर बसेकी थिइन्, नाइजेरियन महिला मारियान । तर, काठमाडौँमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरेपछि मारियानले कोकिन पाइनन् ।

भारतीय प्रहरीले नयाँ दिल्लीबाट मारियानलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले बताए । थापाले भने–‘मारियानले भारतीय नागरिक विजय सिंहलाई कोकिन लिन काठमाडौँ पठाएको अनुसन्धानबाट थाहा भएको छ ।’

भारतको कर्नाटक घर भएका ३३ वर्षीय विजय सिंहलाई ब्यूरोको टोलीले भदौ ८ मा काठमाडौँबाट पक्राउ गरेको थियो । दक्षिण अफ्रिकन सिर्ले गामा भदौ ३ मा कमलादीस्थित होटल गंगोरबाट पक्राउ परेकी थिइन् ।

सो कोकिन कारोबारमा संलग्न अर्की आरोपी हुन्, दुई वर्षदेखि नेपालमा रहेकी २६ वर्षीया तान्जानियन युवती गेट्युड लियोनार्द किमारो । सिर्ले गामा र विजय सिंहलाई प्रहरीले पक्रेको थाहा पाएर भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार ००:००