अब एआईसँग दुर्व्यवहार गर्नुलाई प्रतिबन्धित आचरणको सूचीमा समावेश गरिएको छ । उक्त सूचीमा अरूलाई दुर्व्यवहार गर्ने, आत्महानीलाई प्रोत्साहन गर्ने तथा सम्बन्धित व्यक्तिको सहमतिबिना अन्तरङ्ग तस्बिर सिर्जना गर्नेजस्ता गतिविधि पनि छन् ।
एन्थ्रोपिकले यो नीति बारम्बार गरिने दुर्व्यवहारका चरम अवस्थामा मात्रै लागु हुने स्पष्ट पारेको छ । यद्यपि, यस घोषणाले एआई उपकरणसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा पुनः बहस सुरु गराएको छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताले सामान्य रूपमा निराशा व्यक्त गर्ने, एआईको जवाफप्रति असहमति जनाउने, सिर्जनात्मक काममा रहस्यमयी वा गम्भीर विषय समेट्ने तथा मोडेलको परीक्षण र अनुसन्धान गर्ने गतिविधिमा यो नीति लागु हुने छैन । यसले प्रयोगकर्ताले जानाजानी र निरन्तर दुर्व्यवहार गरेका अवस्थामा मात्रै नीति लागु हुने सङ्केत गर्छ ।
तर, एन्थ्रोपिकले आफ्ना एआई मोडेलप्रति कस्तो व्यवहारलाई ‘दुर्व्यवहारपूर्ण वा क्रूर’ मान्नेछ भन्ने विषय भने अझै स्पष्ट पारेको छैन ।
नयाँ नीतिको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन् । कतिपयले यसलाई एआईसँग सभ्य व्यवहार गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने कदम भन्दै स्वागत गरेका छन् । केहीले त यसलाई एआई मोडेलको कल्याणसँग जोडेर समेत व्याख्या गरेका छन् ।
तर, यस योजनाको आलोचना गर्नेहरू पनि छन् । एक प्रयोगकर्ताले यसलाई ‘गम्भीर रूपमा गलत’ भन्दै टिप्पणी गरेका छन् भने अर्का प्रयोगकर्ताले यस्तो नीतिले मानिस र जनावरमाथि हुने दुर्व्यवहारको गम्भीरतालाई कमजोर पार्न सक्ने आशङ्का व्यक्त गरेका छन् ।
आयरल्यान्डको कानुन फर्म विलियम फ्राईका प्रविधि साझेदार डा. ब्यारी स्क्यानेलले लिंक्डइनमा लेख्दै एन्थ्रोपिकको नीतिको आलोचना गरेका छन् ।
“तपाईं सङ्ख्या र गणितप्रति क्रूर हुन सक्नुहुन्न,” उनले लेखेका छन्, “एआईलाई यसरी मानवीय गुण भएको वस्तुका रूपमा प्रस्तुत गर्नु हानिकारक छ । यसले मानिसहरूलाई एआई वास्तवमा जे होइन, त्यही हो भन्ने विश्वास गर्न प्रेरित गर्छ ।”
माइक्रोसफ्टका एआई निर्देशक मुस्तफा सुलेमानले पनि एन्थ्रोपिकको नयाँ नीतिप्रति प्रतिक्रिया जनाएका छन् । उनले पग्लिरहेको अनुहारको इमोजी प्रयोग गर्दै प्रतिक्रिया दिएका हुन् । सुलेमानले यसअघि गत सेप्टेम्बरमा एआईलाई मानिसजस्तै व्यवहार गरेको भन्दै प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकको आलोचना गरेका थिए ।
एन्थ्रोपिकले अन्य क्षेत्रमा देखिएका नयाँ तथा उदीयमान जोखिमलाई सम्बोधन गर्न पनि नीति अद्यावधिक गरेको छ । यसअन्तर्गत क्लाउडलाई ‘भ्रामक अभियान’ सञ्चालन गर्न प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा क्लाउडलाई ‘मतदातालाई भ्रममा पार्न वा निर्वाचन प्रक्रियामा अवरोध पुर्याउन’ प्रयोग गर्न नपाइने व्यवस्था पनि स्पष्ट पारिएको छ ।
तर, नीतिमा गरिएका यी कुनै पनि परिवर्तनले एआई च्याटबटसँग दुर्व्यवहार गर्ने प्रयोगकर्तालाई रोक्ने निर्णयले जति ध्यान र आलोचना पाएका छैनन् ।
एन्थ्रोपिकको यो निर्णयले जेनेरेटिभ एआई उपकरण प्रयोग गर्दा विनम्र हुनुपर्छ कि सीधा र छोटो रूपमा कुरा राखे पुग्छ भन्ने लामो समयदेखि चलिरहेको बहसलाई पनि पुनः सतहमा ल्याएको छ ।
केही विज्ञहरूका अनुसार च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गर्दा ‘कृपया’ वा ‘धन्यवाद’ भन्नु अनावश्यक हुनुका साथै यसले टोकनको खपत बढाउँछ । जेनेरेटिभ एआई उपकरण सञ्चालन गर्ने लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) ले प्रयोगकर्ताको प्रश्न प्रशोधन गर्न र जवाफ दिन टोकन प्रयोग गर्छन् ।
तर, अर्कोतर्फ विनम्र भाषाको प्रयोगले एआईबाट अझ गुणस्तरीय जवाफ प्राप्त गर्न सकिने तर्क गर्नेहरू पनि छन् ।
गत वर्ष सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले च्याटजीपीटीले प्रयोगकर्ताका ‘कृपया’ र ‘धन्यवाद’ जस्ता सन्देशको जवाफ दिँदा कति विद्युत् खर्च हुन्छ भनेर सोधेका थिए । त्यसको जवाफमा ओपनएआईका प्रमुख साम अल्टम्यानले यस्तो खर्चलाई ‘राम्रो काममा गरिएको करोडौँ डलरको लगानी’ भन्दै प्रतिक्रिया दिएका थिए । उनले यसको उपयोगिता भविष्यमा थाहा हुन सक्ने सङ्केत गरेका थिए ।
केही विज्ञले एआई च्याटबटसँग असभ्य व्यवहार गर्ने बानीले मानिसबीचको सञ्चारमा समेत नकारात्मक असर पार्न सक्ने तर्क गरेका छन् । उनीहरूका अनुसार एआईसँग कुरा गर्दा अपनाइने असभ्य शैली बिस्तारै अन्य मानिससँग बोल्ने र व्यवहार गर्ने तरिकामा पनि सर्न सक्छ ।











प्रतिक्रिया