ताजा घटना

चितवनमा भरत गुरुङको ह’त्या आरोपमा सैनिक पक्राउ


८ श्रावण २०७८, शुक्रबार ००:००


काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमल डाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत एकजनालाई पक्राउ गरिएको चितवनका एसपी ओम अधिकारीले बताए ।

चितवन प्रहरीले आरोपीको नाम सार्वजनिक गरिसकेको छैन् । ‘केहीबेरमा आरोपीलाई सार्वजनिक गर्छौ’ एसपी अधिकारीले भने । चितवनको टाँडीबाट पक्राउ परेका ढकालको साथबाट प्रहरीले भरत गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार ००:००