भोजपुर । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा भोजपुरका गठबन्धन उम्मेदवार सुदन किरातीले अहिले जनतालाई खच्चडको हैन १२ चक्के ट्रकको आवश्यकता रहेको बताएका छन् । भोजपुरको हतुवागढी गाउँपालिकाको केन्द्र (घोरेटारमा) आयोजित गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै किरातीले यस्तो बताएका हुन् ।
एमाले नेता शेरधन राईले ‘दुई–दुई पटक सांसद भएर पनि सुदन किरातीले केही गर्न नसकेको’ भनि लगाएको आरोपको खण्डन गर्दै किरातीले यसो भनेका हुन् । राईप्रति इंगित गर्दै किरातीले भने, ‘मेरो प्रतिस्पर्धीले जति गर्नुभयो अब त्योभन्दा बढी गर्न सक्नुहुन्न ।’
‘अबको जमाना भनेको बुलेट रेलको हो । ट्याक्टरले बोक्ने भारी खच्चडलाई बोकाएर हुँदैन’ किरातीले भने ‘बुलेट रेलको जमानामा खच्चडको उपयोगिता हुन सक्दैन ।’ शेरधन राईले आफूलाई मन्त्रीको दाबेदार रहेको बताउँदै आएपनि किरातीले उनी मन्त्री हुन नसक्ने समेत बताएका थिए ।
उनले भने, ‘अब बन्ने सरकार गठबन्धनको सरकार हुन्छ । मन्त्री पद सँधैभरी शेरधनको नाममा तमसुक गरिएको छैन ।’ त्यस्तै किरातीले आफू सांसद पदमा रहँदा मन्त्री हुन नसकेपनि भोजपुरे जनताको शिर निहुराउने काम नगरेको दाबी गरे ।
‘शेरधनीसँग जनताको कुरा संसदमा पु¥याउने हिम्मत छ कि छैन ?’, किरातीले भने, ‘तर, मैले जनताको समस्यालाई जहिल्यै शिर ठाडो पारेर निर्धक्क किन बोलिरहें, किनभने मसँग त्यो नैतिक बल छ ।’
राईले आफ्नो कार्यकालमा रानीटार–चखेवा सडकखण्डको ९२ किलोमिटर कालोपत्रे र रानीटार हुँदै सुनबालुवा, अरुण, साल्पासम्मको सडक कालो पत्रेका योजना पार्न सफल भएको समेत बताए ।











प्रतिक्रिया