ताजा घटना

जनमत पार्टीका सांसद सीके गुप्तामाथि हातपात


१० कार्तिक २०८१, शनिबार ००:००


जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सीके गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा हातपात प्रयास भएको छ । शनिबार विहान युवाहरुको एक समूहले लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि गुप्तामाथि हातपात प्रयास गरेको हो ।

आफूलाई प्रहरीले कार्यालयभित्र लगेको र दुई घण्टादेखि त्यहीँ बसिरहेको गुप्ताले बताए । इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीका अनुसार सांसद गुप्ता आफ्नो कार्यालयतर्फ जाँदै गर्दा बाटोमा एक समूहले हातपात प्रयास गरेको हो । इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडी रोकेर युवाहरुले हातपातको प्रयास गरेपछि प्रहरीले रोकेर सांसद सवार गाडीलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको उनले बताए ।

कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समुहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । आफूलाई रोकेर गाडीमा सँगै रहेका २ जनामध्ये एक जनालाई बाहिर निकालेर कुटपिट गरेको उनले बताए । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख मगरातीका अनुसार भैसहियामा पूर्वसांसद फखरुद्दिनका भतिज नेतृत्वको समूह र सांसद सीके गुप्ता समर्थक समूहबीचको विवादछ । सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको उनले बताए । थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने तयारी भएको प्रहरीको भनाइ छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ, नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेन्डा रहेको छ ।

सतहमा आएका ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थाहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेन्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्त पीडितहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारवाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेन्डाको रूपमा अघि सारेको छ ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार ००:००