गृह पृष्ठ

जानकी मन्दिर र राममन्दिर परिसर श्रद्धालु भक्तजनहरूको आकर्षणको केन्द्र


२० आश्विन २०८१, आइतबार ००:००


जनकपुरधाममा अहिले दशैंको उल्लास छाइरहेकाे छ । शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाई लगायतलाई दुलहीझैं सजाइएको छ । जनकपुरधामका जानकी मन्दिर र राममन्दिर परिसरका शक्तिपीठहरू श्रद्धालु भक्तजनहरूको आकर्षणको केन्द्र बनेका छन् ।

विशेष गरी राजदेवी मन्दिर र बौधी मन्दिर परिसरमा आयोजित सांस्कृतिक कार्यक्रम एवं खेलतमासाले भक्तजन भरिभराउ हुन्छन् । शहरका मुख्य चोक रामानन्दचोक, मुरलीचोक, भ्रमरपुराचोक, रजौल, देवीचोक, जानकीचोक, वंशीचोकमा कतै अवस्थित शक्तिपीठ र कतै भगवतीको भव्य प्रतिमाहरू बनाएर सृंगारिएको छ ।

यी स्थानमा आकर्षक रुपमा बनाइएको टेन्ट पण्डाल र रातिको समयमा टल्किने विविध रंगीबिरंगी बत्तिहरूले जनकपुरधामको दृश्य मनमोहक हुन्छ । दशैंको समयमा जनकपुरधाममा घटस्थापनादेखि नै दश दिनसम्म विशेष रौनक र उत्साह हुने गर्छ ।

टाढा–टाढाबाट मानिसहरू यस उत्सवलाई अवलोकन गर्न जनकपुरधाम आउने गर्छन् । महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लबजस्ता स्थानिय युवा संगठनहरूले चोक–चोकमा विशेष रूपमा लाखौं करोडौको सजावट गरी दशैंलाई भव्य बनाउँछन् ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार ००:००