ताजा घटना

दिल्लीमा तीन नेपाली ६० लाख बराबरकाे लागु औषधसहित पक्राउ


२७ बैशाख २०७९, मंगलबार ००:००


दिल्ली प्रहरीको एन्टी नार्कोटिक्स सेलले सोमबार १५.१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् ।

प्रहरीले अभियुक्तको साथबाट एउटा तौल गर्ने मेसिन र नौवटा प्याकिङ पोलिथिन समेत बरामद गरेको छ । उक्त लागू औषधको मूल्य ६० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोलीलाई लागू औषध बोकेर अपरिचित व्यक्तिलाई पुर्‍याउन आउन लागेको खास जानकारी प्राप्त भएको थियो । सूचनाको आधारमा प्रहरीले बाला साहेब गुरुद्वारा नजिकै जाल बिछ्याएको थियो ।

केही समयपछि प्रहरीले तीन जनालाई गुरुद्वारा तर्फ आउँदै गरेको देखे । तीमध्ये एकजनाले आफ्नो पछाडि झोला बोकेका पनि थिए । लागू औषध कारोबारीहरुको आवागमनको बारेमा गोप्य सूचना दिनेले प्रहरीलाई संकेत गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार ००:००