काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर,काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे । ‘काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ’, उनले भने ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर ल्याएको हो ।
जिल्ला अदालत, काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी प्रहरीको छ ।अड्विरको हत्यापछि उनको शव नभेटियोस् भन्ने उद्देश्यले धोबीखोला करिडोर नजिक फोहोरले छोपेको पाइएको थियो ।
शव भेटिएको स्थान ।
बुधबार राति त्यहाँ शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।
‘त्यसक्रममा मृतक शवलाई सुरक्षित स्थानमा राखेर जाँच गर्दा टाउको, निधार र नाकमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएका थियौं । मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायिका व्यक्ति हुन् । उनको शव भेटिएलगत्तै यसमा मायाको पहिचान नेपाल लगायतका संस्थाले गम्भीरतापूर्वक अनुसन्धानको माग गरेका थिए ।











प्रतिक्रिया