गृह पृष्ठ

पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिका १ ले मकै बालीको बिमा


१२ बैशाख २०८०, मंगलबार ००:००


सोलुखुम्बुमै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिका १ नेलेले मकै बालीको बिमा गराएको छ । रोग, किरा तथा अन्य विपत्तीबाट किसानलाई हुन सक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बिमा गराएको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै समावेश गरी २४७ जना किसानले १२२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको एक लाख ३८ हजार बराबरको बिमा गराएको वडाध्यक्ष घनराज सुनुवारले बताए ।

किसानले एक हेक्टरमा लगाइएको मकै खेतीको ९३ हजार रुपैयाँ बराबरको बिमा गर्न पाउने नियम रहेको छ । नेले क्षेत्रका किसानले प्रतिव्यक्ति करिब आधा हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन् ।

विमा गरिएको बालीमा रोग, किरा तथा प्रकृतिक विपत्तीहहरुबाट क्षति भएको खण्डमा करिब ९० प्रतिशत रकम बिमा बापत पाउने बिमा कम्पनी आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नेलेले गराएको उक्त अन्न बाली बिमा जिल्लाकै पहिलो भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक खगेन्द्र बनले बताए । जिल्लामा फलफुल बिमा अधिकांश किसानहरुले गराएको भएपनि अन्नबालीको बिमा पहिलो पटक सुरु गरिएको प्रबन्ध बनले बताए ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार ००:००