गृह पृष्ठ

प्रधानमन्त्री ओलीका स्वास्थ्यबारे निजी डा.सिंहले यस्ताे जानकारी दिइन्


११ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि बालुवाटारमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार चिसोका कारण रुघाखोकीले ग्रस्त बनाएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले मौसमी रुघाखोकी कारणले आराम गरिरहेको जानकारी दिइन् ।

उहाँलाई रुघाखोकीले गालेको छ । बोल्न असहज भएको छ,’ डा. दिव्याले भनिन्,-हामीले रुघाखोकीको सामान्य औषधि दिएका छौं । केही दिन आराम गर्न सुझाव पनि दिएका छौं । चिकित्सककै सुझाव अनुसार ओलीले शुक्रबारका लागि तय भएका उपत्यकाबाहिरका सबै कार्यक्रम रद्द गरेका हुन् ।

यसअघि बुधबार र बिहीबार पनि उनले कुनै भेटघाट नगरी बालुवाटारमै आराम गरेका थिए । डा. दिव्याले थप भनिन्,बालुवाटारमै उहाँको उपचार भइरहेको छ । ज्वरो भने छैन । रुघाखोकीको मुख्य उपचार नै आराम भएकाले केही दिन बाहिरी कार्यक्रममा नजान सुझाव दिएका छौं ।’

शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए । बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् । भर्चुअल उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । त्यस्तै दिउँसो सवार १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ००:००