२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालका प्रधानमन्त्री बालेन शाहले छिट्टै भारतको भ्रमण गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा उनले सोमबार प्रस्तुत गरेको कार्ययोजनामा यसबारे उल्लेख गरिएको छ ।
कार्ययोजनामा नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचार आदानप्रदान तथा वार्तालाई नियमित बनाएर द्विपक्षीय समस्या समाधान गर्ने योजना छ ।
जसमा दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण गराउन प्रयत्नरत रहने प्रतिबद्धता छ ।
कार्ययोजनमा उल्लेख भएअनुसार दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचारविमर्श र वार्ताहरू आपसी मित्रता सुदृढ गर्न तथा दुई देशबीचका सबै समस्या समाधान गर्नका लागि उत्कृष्ट माध्यम हुन् ।
यहाँनेर परराष्ट्रमन्त्रीले जानकारी गराए अनुसार भनेर प्रस्तावित राजदूत पाण्डेले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषय स्मरण गरेका हुन् ।
‘यद्यपि यकिन मिति अझै तय हुन बाँकी छ, तथापि सम्माननीय प्रधानमन्त्रीले छिट्टै भारतको भ्रमण गर्नुहुनेछ,’ कार्ययोजनामा भनिएको छ, ‘चुनौतीहरूको सामना गर्ने र आपसी हित प्रवर्द्धन गर्ने कार्यमा संलग्न संस्थागत संयन्त्रहरूले हासिल गरेको प्रगतिको दुवै देशका सरकार प्रमुखहरूले समय–समयमा समीक्षा गर्नुपर्छ ।’
नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धका विविध क्षेत्रहरू समेट्ने द्विपक्षीय संयन्त्रहरू रहेका छन् । भारतका लागि नेपालको राजदूतको हैसियतमा, आफूले कार्यतालिका नै तयार गरेर नेपालभारत द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय र उद्देश्यमूलक रूपमा सञ्चालन गर्न प्रयासरत रहने उनको प्रतिबद्धता छ ।
भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, खुला सिमाना, जनस्तरमा रहेको आत्मियताका कारण भारतसँगको सम्बन्ध नेपालको परराष्ट्र नीतिको आधारभूत पक्ष रहँदै आएको छ ।
‘नेपाल–भारत सम्बन्धलाई हाम्रो राष्ट्रिय हितमा, तात्कालिक र दीर्घकालिन आवश्यकता अनुसार राष्ट्रिय सम्मान र जनभावनालाई सर्वोपरी राखेर सम्बोधन गर्न प्रतिवद्ध रहने छु,’ पाण्डेले कार्ययोजनामा लेखेका छन् ।
नेपालको संविधानले नै मुलुकको अन्तराष्ट्रिय सञ्चालनका लागि स्पष्ट संवैधानिक मार्गदर्शन गर्दै धारा ५१ को खण्ड ‘ड’ अन्तर्गत नेपालले अवलम्बन गर्ने परराष्ट्र नीतिका आधारभूत स्तम्भहरू उल्लेख गरेको छ । जसमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पंचशिलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख गरेको छ ।
साथै, वर्तमान सरकारको नीति तथा कार्यक्रममा उल्लेखित परम्परागत कूटनीतिलाई आर्थिक ‘कूटनीतिमा रुपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवं शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तराष्ट्रिय गन्तव्य बनाउने’ भनिएको छ ।
पाण्डेले भनेका छन्, ‘वैदेशिक सहायता, लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौमसत्ता र दीर्घकालीन राष्ट्रिय हितअनुकूल परिचालन गरिने भन्ने निर्देशनलाई आत्मसाथ गर्दै काम गर्ने छु ।’
नेपालको राजदूतको हैसियतमा आफ्नो भूमिका, दायित्व र चिन्तन सधैं नेपाल सरकारको नीति, निर्देशन र प्राथमिकतामा केन्द्रित रहने पनि बताएका छन् ।
‘भारतसँगको हाम्रो सम्बन्ध व्यापक छ । व्यापार, पारवहन, लगानी, पर्यटन देखि दैनिक उपभोग्य वस्तुको आयात, नेपाली उत्पादनलाई भारतको बजार उपलब्धता मात्रै होईन ऊर्जा, क्षेत्रमा सहकार्यले दुई मुलुकबिच अन्तरनिर्भरताको पक्ष पनि थपेको छ,’ उनी लेख्छन्, ‘भूकम्प, बाढीपहिरो, कोभिड महामारीजस्ता विपत्ति पर्दा भारत जहिले पनि फस्ट रेस्पोन्डरको रूपमा नेपाल र नेपालीको सहयोगमा आएको छ ।’











प्रतिक्रिया