Breaking News Post

बुढीगण्डकी बाढी : उत्तरी गोरखा जाने ‘लाइफलाइन’ टुट्यो, मनासलु पदयात्रा प्रभावित


२८ आश्विन २०८३, बुधबार ००:००


आरुघाट, गोरखा, काठमाडौं — उत्तरी गोरखा भेग जाने ट्रेकिङको मौसम भएकाले धार्चे गाउँपालिकाको यारुखोलादेखि दोभानसम्म ठूला-साना होटलहरू तयारी अवस्थामा थिए । नजिकिँदै गरेको दसैंसँगै पर्यटक आउने मौसम भएकाले होटल व्यवसायीहरू उत्साहित थिए । दसैं मनाउँदै पर्यटकलाई स्वागत गर्ने अनि राम्रो आम्दानी गर्ने तयारीमा थिए । तर आइतबार बिहान बुढीगण्डकीमा आएको बाढीले दसैं मनाउँदै आम्दानी गर्ने सपना चुँडाइदिएको छ ।

बाढीले वडा नम्बर एकमा रहेका होटल र घरहरू बगाएपछि स्थानीयहरू राहतको भरमा बस्नुपर्ने विपद् आइपरेको छ । यो बाढीबाट सबैभन्दा बढी प्रभावित भएको वडा हो । ‘पर्यटक आउने बेला भएकाले होटलहरू तयारी अवस्थामा थिए । ट्रेकिङमा आउने पर्यटकबाट राम्रो आम्दानी हुने बेला पनि यही हो । आम्दानी गर्दै दसैं मनाउने तयारी थियो,’ वडाध्यक्ष रामसिंह गुरुङले टेलिफोनमा कान्तिपुरसँग भने, ‘बाढीले घर, होटल सबै बगायो । दुई दर्जनभन्दा बढी होटल थिए । तीमध्ये ट्रेकिङमा जाने पर्यटक बस्ने स्तरीय होटलहरू पनि थिए । करोडौंको क्षति भयो । आम्दानीको बाटो पनि बन्द भयो ।’

बाढीले त्यो क्षेत्रका पाँचवटा पुल बगाएको छ । झोलुङ्गे चार र मोटरेबल पुल एक बगाएपछि वारिपारिको करिब हजार जनसंख्या प्रभावित भएको गुरुङले बताए । ‘पर्यटकीय मार्ग खोल्न र वारिपारि आवतजावत गर्न पुल चाहिएको छ,’ उनले भने, ‘चार ठाउँमा सडक बिग्रिएको छ । उत्तरी गोरखा जाने पर्यटकीय मार्ग अवरुद्ध भएको छ ।’

 

प्रकाशित : २८ आश्विन २०८३, बुधबार ००:००