भारतको तमिलनाडु राज्यको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङको तकदा चिया कमाननिवासी सतपाल राईको पनि निधन भएको छ।भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हवलदार पदमा रहेका राई चिफ अफ डिफेन्स स्टाफ विपिन रावतका नीजि सुरक्षा अधिकारी थिए।
यो हेलिकोप्टर दुर्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत सेनाका अधिकारीहरूको मृत्यु भएको छ। हेलिकोप्टरमा कुल १४ जना सवार थिए, जसमध्ये १३ जनाको मृत्यु भएको छ। सतपाल राईले बुधबार बिहान आफ्नो छोरा विकल राईलाई फोन गरेर तमिलनाडु गइरहेको जानकारी गराएका थिए।
त्यही फोन कल बाबा–छोराबीच अन्तिम सम्वाद बन्यो। सतपालका एक मात्र छोरा विकल पनि भारतीय सेनामा नै कार्यरत छन्। सतपाल राईको पार्थिव शरीर शुक्रबार दार्जिलिङको तकदा ल्याइपुऱ्याइने तयारी छ।
यस्तै बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।
रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए। रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया