काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित गरेको छ । बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको भन्दै सेवा बन्द गरीएकाे अस्पताल प्रशासनले जनाएको छ ।
प्रशासन प्रमुख प्रमोदकुमार निरौलाका अनुसार एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्छ ।‘सोमबार पनि स्वास्थ्य बीमा बोर्डका अधिकारी र अस्पताल प्रशासनबीच छलफल भएको थियो ।
दररेटहरूबीचको फरकलाई सफ्टवेयरमा मिलाउन समय लाग्ने भएकोले अझै केही दिन समस्या कायम नै रहन्छ’, निरौलाले भने । बोर्डले भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको थियो । दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।
तर बोर्डका अध्यक्ष डा। गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अस्पताल गएर छलफल गरेपछि तत्कालका लागि समस्या समाधान गरिएको थियो । हाल स्वास्थ्य बीमाबाट पाइने शल्यक्रियाबाहेकका अन्य सेवाहरू सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य बीमा सुरु गरेपछिको लगभग ६७ करोड रुपैयाँ प्राप्त गर्नुपर्ने दाबी अस्पताल प्रशासनले गरेको छ । तर बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले पुससम्मको भुक्तानी भइसकेको र त्यसपछिको २४ करोड हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताएका छन ।
‘बिरामीलाई जाँचेको कागजातसहित भुक्तानीको लागि सफ्टवेयरमा आउनुपर्छ । बीमा सुरु भएदेखि नै कागजात नमिलेको दाबीलाई जोड्नुभएको होला’, डा. बसौलाले भने, ‘तर भुक्तानीका लागि सफ्टवेयरमा नआएको दाबीको भुक्तानी त बोर्डले दिन सक्दैन नि । सबैसेवा प्रदायक संस्थाको पुससम्मको भुक्तानी सबै भइसकेको त्यसयताको बाँकी रहेको बोर्डले जनाएको छ ।
बसौलाका अनुसार सरकारबाट प्राप्त हुनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड रुपैयाँ र यस वर्षको अनुदान ७ अर्ब प्राप्त हुनासाथ असारसम्मको सबै भुक्तानी गर्ने गरिनेछ ।











प्रतिक्रिया