मुख्य खवर

समाजवादी कम्युनिस्ट पार्टी,नेपालको प्रथम राष्ट्रिय सम्मेलनको बन्दसत्र जारी


२१ पुस २०८१, आइतबार ००:००


काठमाडौँ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको प्रथम राष्ट्रिय सम्मेलनको बन्दसत्र दोस्रो दिन पनि जारी छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा शनिबारदेखि सुरु भएको बन्दसत्रमा समूहगत छलफल भइरहेको नेता जागृत रायमाझीले जानकारी दिए ।

रायमाझीका अनुसार सम्मेलनमा पार्टीको आगामी समाजवादी कार्यदिशा, वैचारिक, राजनीतिक विचारधारा तथा सङ्गठनात्मक सिद्धान्तबारे बहस भइरहेको छ । देशभरबाट २५० प्रतिनिधि सहभागी भएको यस सम्मेलनले केही सचिवालय सदस्य हेरफेर हुने उनले जानकारी दिए ।

‘बन्दसत्रमा महासचिवले पेस गर्नुभएको पार्टीको आगामी समाजवादी राजनीतिक कार्यदिशा,सङ्गठनात्मक दस्ताबेज पेस भएको छ । त्यसबारे समूहगत छलफल भइरहेको छ’उनले भने,‘अबको वैज्ञानिक समाजवादी कार्यदिशा कस्तो बनाउने भन्ने विषयमा टिम बनाएर जाने भएको छ । उत्पादन युनिट बनाउनेबारे यो सम्मेलनले टुङ्ग्याउँछ ।’

विगतमा कम्युनिस्ट पार्टीले प्रयोग गरेका विचारधारात्मक तथा सङ्गठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने रायमाझीले जिकिर गरे ।

पहिलो कुरा हामीले जे अभियान सुरु गर्‍यौँ । संसारभरका पुराना कम्युनिस्ट पार्टी लेनिन, माओदेखि नेपालमा एमाले, माओवादीसम्म आइपुग्दा उनीहरूले जुनजुन विषय उठाए त्यो त्यतिबेलाको विषय थियो । अहिले हामीले नयाँ युगको नयाँ वैज्ञानिक समाजवाद रिभोलुसनको नयाँ कार्यदिशा लिएर हिँडेका छौँ ।

हिजो समाजवाद ल्याउने अथवा समाजवादमा पुग्ने भन्ने थियो । त्यो भनेको पहिला जनविद्रोह वा जनयुद्धको बाटोबाट विद्रोह गर्ने अनि समाजवाद ल्याउने भन्ने थियो । हामीले त्यसलाई उल्ट्याएर देशव्यापी उत्पादन नीति ल्याउने तयारीमा छौँ । पार्टीको तल्ला कमिटीलाई सार्वभौम बनाउने छौँ’, पार्टीभित्र भइरहेका बहसबारे उनले भने ।

यस्तै पार्टीको तल्ला समितिलाई सार्वभौम बनाउन तीनवटा योजना ल्याएको उनले दाबी गरे । रायमाझीका अनुसार पहिलो उत्पादनसम्बन्धी काम रहको छ । उत्पादनलाई अनिवार्य गरिएको छ । उत्पादन नभई सार्वभौम समिति नबन्ने उनको ठम्याइ छ । दोस्रो वैचारिक राजनीतिक काम रहेको छ भने तेस्रो वर्ग संघर्षका काम हुनेछ । यी तीन काम सँगसँगै लिएर जाने नीति पार्टीले अगाडि सारेको रायमाझीले जानकारी दिए ।

‘आजैदेखि समाजवाद लागु गर्दै जाने पार्टीको नीति छ । समाजवाद बनाउने वा ल्याउने वा पुग्ने पनि होइन । यो बनाउँदै जाने व्यवस्था रहेछ । हिजोको कम्युनिस्टले बनाउँदै जान खोजेनन् । ल्याउन वा पुग्न खोजे । एउटा यो कुरा भयो’, उनले भने,‘अर्को समानान्तर अर्थव्यवस्था सहितको सांस्कृतिक, आर्थिक, राजनीतिक कमिटीभित्र समाजवादलाई प्रयोग गर्दै जाने हो । समानान्तर भनेको राज्यको अर्थव्यवस्था आफ्नो ठाउँमा छ ।

हामीले आफ्नो उत्पादनमार्फत अगाडी बढ्नुपर्छ । हामी सबै उत्पादक र उपभोक्ता हौँ । यसलाई अहिलेदेखि नै लागु गर्दै जाने हो । त्यसकारण पार्टीले उत्पादनको प्रक्रिया पुरै सुरु गरेका छौँ । सम्मेलनको अर्को विषय नेपाल लगायत दक्षिण एसियाको हकमा पितृसत्ता प्रधान रहेकोमा पार्टीले महिलालाई पनि मूल नेतृत्वमा ल्याउने गरी नीति सारिएको रायमाझीको दाबी छ । अब कम्युनिस्ट आन्दोलनको चालक टिममा महिला अनिवार्य हुनुपर्ने उनको तर्क छ । महिला नेतृत्वमा नआएसम्म अबको कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने उनको भनाइ छ ।

यसैगरी सम्मेलनले नेतृत्वको विषयमा ६० वर्षसम्म महासचिव, अध्यक्ष बन्ने परम्परा वैज्ञानिक समाजवादीले तोडेको रायमाझीले जिकिर गरे । पार्टीलाई जरासम्म पुग्दा बलियो बनाउन प्रतिनिधिले प्रतिनिधित्व गरेर नहुने निष्कर्ष निकाल्दै तल्ला समितिलाई सार्वभौम बनाउने र प्रतिनिधिलाई निर्णय गर्ने अधिकार होइन कार्यान्वयन गर्ने अधिकार दिनेबारे बहस भइरहेको उनले बताए ।

नेतृत्व र सचिवालय सदस्यहरूलाई रोटेसन प्रणालीमार्फत संगठन सञ्चालन गरिरहेको रायमाझीले बताए । वैज्ञानिक समाजवादी पार्टीमा अहिले ११ जना सचिवालय सदस्य छन् । केन्द्रीय समिति सङ्ख्या ५१ जना रहेको छ । यो सम्मेलनपछि केही सङ्ख्या यताउति हुन सक्ने रायमाझीले बताए ।

बन्दसत्रमा ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव पेस भएको छ । दुई वर्षअघि राष्ट्रिय भेलाबाट विश्वभक्त दुलाल आहुती महासचिव चुनिएका थिए । अर्को आगामी २०८३ मा हुने राष्ट्रिय महधिवेशनबाट आहुती हट्नेछन् ।

यस्तै समाजवादी पार्टीले सांस्कृतिक रूपान्तरण अन्तर्गत कुनै कार्यक्रममा अध्यक्ष बन्ने, फूलमाला, ब्याच लगाउने, आसन ग्रहण गर्ने व्यवस्थालाई खारेज गरेको छ । मञ्चलाई विश्वविद्यालय जस्तो गरी प्रयोगमा ल्याएको छ । अहिलेसम्म नेतृत्व सर्वसम्मत रूपमा चयन भएपनि भविष्यमा हरेक समुदायबाट छानिएर आउने व्यवस्था पार्टीले गरेको रायमाझीले जानकारी दिए ।

प्रकाशित : २१ पुस २०८१, आइतबार ००:००