काठमाडौँ, सवारी नियम उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन प्रस्ताव गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा सो प्रस्ताव पठाएको हो ।लेन अनुशासन पालना नगरेको, तीव्र गतिमा सवारी दौडाएको,मादक पदार्थ सेवन गरेर सवारी चलाएको र रातो बत्तीमा सवारी चलाउनेलाई अनलाइन प्रविधिबाट कक्षा लिन प्रस्ताव गरिएको छ ।
अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) दीपक गिरीले बताएका छन । उनले भने,‘प्रहरी प्रधान कार्यालयबाट निर्णय भएर आएपछि लागु गर्ने हाम्रो योजना छ ।
प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले अनलाइन कक्षा लिँदा चालकलाई जिम्मेवार बनाउने गरी सफ्टवेयर तयार गरिरहेको छ । ट्राफिक नियम उल्लंघनकर्ता नै अनलाइन कक्षामा सहभागी भए नभएको र पुरा समय कक्षा लिएको वा नलिएको थाहा हुनेगरी सफ्टवेयर तयार भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।
ती अधिकृतले भने,‘अनलाइन कक्षा हुँदा चालक बसेको नबसेको र लाइसेन्स होल्डर चालक नै हो, होइन भनेर यकिन गर्नेगरी प्राविधिक तयारी भइरहेको छ । सडकमा लाइसेन्स चेकजाँच गर्दा नागरिक एपबाट हेर्न मिल्ने प्रणाली लागु गरिएको छ ।
सचेतना कक्षा लिँदा पनि नागरिक एप र नेपाल प्रहरी एपलाई लिङ्कअप गर्नेगरी काम भइरहेको अधिकारीहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार ज्ञान बजार प्रालिको सहकार्यमा सफ्टवेयर बनिरहेको छ ।
एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बडी समय अनलाइनमा चालक बसे नबसेको र सम्बन्धित बाहेक अर्को मानिस बसेको पनि पहिचान गर्नेछ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी गिरी भन्छन्, ‘त्यो काम प्रक्रियामा छ ।











प्रतिक्रिया