गृह पृष्ठ

सिंहदरबारभित्र कर्मचारी सेयर कारोबारमा व्यस्त, अख्तियारको छड्के अनुसन्धान


२३ भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवामा अवरोध भएको भन्दै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा उजुरी परेपछि अख्तियारको टिमले सिंहदरबारमा छड्के अनुसन्धान गरेकाे छ ।

सो क्रममा उजुरीअनुरुप विभिन्न मन्त्रालयका केही कर्मचारीले सेयर कारोबार गर्ने गरेको पाइएकाे र‘कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइएकाे’ अख्तियार स्रोतले बताएकाे छ ।

‘सिंहदरबारभित्र त्यसरी कारोबार हुँदा सेवामा असर पारेकाले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न भनेर पत्र पठाएका छौं । प्रधानमन्त्री कार्यालयले सो पत्र अध्ययन गर्दै आईटीको टिमसँग हाल छलफल गरिरहेको छ । छलफलपछि सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहन गर्नेगरी निर्देशन गरिने भएको छ । ‘सरकारी स्रोत, साधनको परिचालन गरी कर्मचारीलाई सेयर कारोबार गर्न रोक लगाउने विषयमा आईटी टीमसँग छलफल भइरहेको छ, यसबारे छिट्टै निर्णय हुन्छ’ स्रोतले भन्यो ।

सिंहदरबार मात्रै नभई मुख्यतः काठमाडौंका कयौं सरकारी कार्यालयहरुमा कार्यालय समयमा सेयर कारोबार हुने गरेको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पर्ने मात्रै नभई सरकारी स्रोत साधन समेत व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेको स्रोतकाे भनाइ रहेकाे छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार ००:००