एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बित भएको घटना प्रकाशमा आएको छ । यो घटना ६ जुनमा भएको थियो । माइकल तेजेन्द्रा नाम गरेका यात्री गरुडा एयरलाइनमार्फत जाकर्ताबाट मेलबर्न जाँदै गर्दा उडानकै क्रममा उनको आइफोन हराएको थियो ।
यात्री सिटको खल्तीमा उनले आइफोन राखेका थिए । उडानकै क्रममा उनको आइफोन हराएको थियो । त्यसपछि उनले ‘फाइन्ड माइ आइफोन’ फिचर प्रयोग गरेर आफ्नो फोन ‘ट्रयाक’ गरे। यस क्रममा उनले आफ्नो फोन मेलबर्नको मर्क्युर होटल आसपास रहेको पत्ता लगाए ।
उनले यात्रा गरेको विमानका चालक दलका सदस्यहरू सोही होटलमा बसेको पत्ता लागेको थियो । तेजेन्द्राले आफ्नो आइफोनको अन्तिम लोकेसन यारा नदी नजिकै रहेकोसम्म पत्ता लगाए । यद्यपि उनले फोन फेला पार्न सकेनन् । यो घटनालाई एउटा फोनसँग मात्र सम्बन्धित नठानेर उनले एयरलाइन्स र यात्रीको सुरक्षाको विषयका रूपमा उजागर गर्ने उद्देश्यले इन्स्टाग्राममा यसबारे लेखे ।
उनले फोन ट्रयाक गर्दाको लोकेसनसमेत स्क्रिनसट गरेर राखेका थिए । यसबारे चर्चा चुलिएपछि एयरलाइन्सका निर्देशकले विज्ञप्तिसमेत जारी गरे । उक्त उडानमा रहेका चालक दलका सबै सदस्यलाई निलम्बन गरिएको र पीडित यात्रीसँग निरन्तर सम्पर्कमा रहेर छलफल गरिरहेको एयरलाइन्सका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया