मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।
त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नाका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।
महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।











प्रतिक्रिया