ताजा घटना

देशभरकै कान्छा न्यायाधीश राईकै इजलासले रबिकाे मुद्दा थुनछेक आदेश गर्ने


८ पुस २०८१, सोमबार ००:००


काठमाडौं, पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ ।

गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् ।

२०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए । देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।

कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् । रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।

प्रकाशित : ८ पुस २०८१, सोमबार ००:००