सोलुखुम्बु ः जय कुवेर कुलुङ, जो सँग पराजयका अनगिन्ती अनुभव छन् । अनि छन्, विजयका केहि उत्साहजनक पल । उत्साहको मुख्य श्रोत उनका लागि सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका जनता हुन्।
जसले वडाध्यक्षको जिम्मेवारी सुम्पिए। सेवा गर्ने मौका दिए। बाल्यकालदेखि नै अभाव र गरिबीसँग जुधेका जय कुवेरलाई जनताको समस्या बुझ्न गाह्रो थिएन। महाकुलुङ गाउँपालिका ४ मा स्वास्थ्यको समस्या थियो। उनकै कार्यकालमा वडाले आधारभूत स्वास्थ्य सेवा केन्द्र पाएको छ।
पछाडि पारिएको गाउँका बालबालिका शिक्षाको उज्यालोभन्दा टाढा थिए। जीवनको ज्योति मानिने शिक्षा सबैको पहुँचमा पुर्याउन उनले गुदेल माध्यमिक विद्यालयमा दुईवटा पक्की भवन बनाए।
बासुकी आधारभूत विद्यालयले उनकै कार्यकालमा चार कोठे आरसीसी भवन पाएको छ। गाउँमा सिंहदरबार पुगेको आभास दिने वडा कार्यालयको भवन कहाँ बनाउने टुंगो थिएन। उनले वडा कार्यालय भवन बनाउन निशुल्क जग्गा प्राप्त गरी भवन निर्माण कार्य अघि बढाएका छन्।
जय कुवेरका चुनावपछिको चार वर्ष जनताकै पहरेदारमा बितेको छ। उनले शिक्षा र स्वास्थ्यमा मात्र होइन जनताको मागलाई मध्यनजर गरेर सामूदायिक भवन, बाटोघाटो निर्माणमा पनि उल्लेख्य काम गरे। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडास्तरमा जनशक्ति परिचालनको गरी उनले उत्कृष्ट नतिजा निकाल्न सफल भए। जसको प्रशंसा प्रतिपक्षसँगै सिंगो वडाबासीले गरेको पाइन्छ।
साना साना समस्याले जनतालाई अप्ठ्यारोमा पारिरहेको हुन्छ। यो कुरालाई राम्रोसँग बुझेका उनले ठूला ठूला योजना भन्दा साना तर प्रभावकारी योजनाहरुलाई प्राथमिकतामा राखे। खानेपानीको समस्या निराकारण गर्न एक घर एक धाराको योजना ल्याए।
जुन लगभग अन्तिम चरणमा छ। समाजलाई संस्कृतिले जोडेर राखेको हुन्छ। त्यसैले समाजलाई बलियो बनाउन संस्कृतिको जगेर्ना गर्न अत्यन्तै जरुरी हुन्छ। जय कुवेरले पोम्लालुङ (कुलुङजातीको स्वर्गस्थान० संरक्षणलाई विशेष जोड दिए। जहाँ वर्षेनी बजेट व्यवस्थापन गरी घेराबार तथा पर्यटन पदमार्ग निर्माणको काम अघि बढेको छ।
जनप्रतिनिधीको एउटा सानो निर्णयले सयौं जनताका समस्या दूर गरिदिन सक्छ। महाकुलुङ वडा नम्बर ४ ले उनलाई वडाध्यक्षको रुपमा पाइसकेपछि परिवर्तन र विकासले गति लिएको छ। यद्यपी, जय कुवेरका कयौं योजना र सपनाले पूर्णता पाउन भने बाँकी नै छ।
पढेर भन्दा परेर जानेका, अभाव र गरिबीको जरो किलो धानेका, जय कुवेर राई सोलुखुम्बु जिल्ला साविकको गुदेल गा.वि.स वडा नं। २ ९महाकुलुङ गाउँपालिका ४० मा वि.सं २०३३ साल असोज २१ गते बिहिबारको दिन जन्मिएका हुन्। बुवा अम्बेर बहादुर र आमा फैलीमायाको साइलो सन्तानको रुपमा जन्मिएका उनले बुझ्ने भएदेखि नै गरिबी र अभाव झेले।
गरिबीको भूमरीबाट बाहिर निस्कन उनलाई मनग्गे धन कमाउने मन थियो। जसको लागि राम्रो शिक्षा अनिवार्य थियो। तर उनले गुदेल निम्न माध्यमिक विद्यालयमा कक्षा ७ सम्म मात्रै पढ्न पाए। अध्ययन र शिक्षाको भोक गरिबी र अभावका कारण शोकमा रुपान्तरण भयो। किनकी थप अध्ययन गर्नका लागि नजिकै माध्यमिक र उच्च माध्यमिक विद्यालय थिएनन्।
त्यसैले १४ वर्षको उमेरमा नै उनले रहर हुँदा हुँदै बाध्यतावस शिक्षालाई तिलाञ्जली दिए। उनलाई पढ्ने मन थियो। पढेर धन कमाउन मन थियो। धन कमाएर आफुसँगै आफ्नो परिवार र समाज समृद्ध बनाउने धोको थियो। यो धोको पुरा गर्ने ब्रम्हास्त्र एउटै थियो, पैसा। तर कलिलो उमेरमा धन कमाउन सजिलो थिएन। उनले अप्ठ्यार बाटो रोजे। विद्यालयसँगको नाता टुटेपछि दुई वर्ष मेलापात र घाँस दाउरासँग संगत गरे।
कुरा २०४६⁄०४७ तिरको हुँदो हो । उनी सुन्दर भविश्यको खोजिमा ढाकर र तोक्मा ९भारी टेकाउने टेको० साहारा लिएर भारी बोक्न नाम्चे पुगे। उनलाई पसिनासँग पैसा साट्नु थियो। अनि पैसासँग खुशी। खुशीसँग सुख। तर सुखको लागि पहिला दुख नगरी धरै थिएन। लुक्लामा भरियाको खासै भाउ थिएन। उनले दिनभर पसिना चुहाएर भारी बोक्दा जुन भाउ पाउँथे त्यो चाहिँ उनको लागि मनग्गे थियो। किनकी उनको लागि थोरै पनि धेरै थियो।
लुक्ला पुगेपछि एकजना ट्रेकिङ गाईडसँग भेट भयो । त्यीनै गाईडले १७ दिनको ट्रेकिङ लान तयार भए। जय कुवेरको मन खुसीले तरंगीत भयो। १७ दिनको कमाइ मनमनै हिसाब गरे। सम्झदा मात्रै पनि उनमा जोस भरिएर आयो। तर तितो यथार्थ लुक्लाबाट भारी बोकेर हिँडिसकेपछि नाम्चे नपुग्दै भारी याकले लाने भयो। भारी पाएको दुई दिनमानै गाइडले भारी छैन अब तिमी फर्केर जाउ भनेपछि उनको मन नमज्जाले कुँडियो।
बल्लतल्ल पाएको काम गुम्यो। बरु त्यही याक भएको पसिनाको भाउ आउने रहेछ भनेजस्तो पनि उनलाई लाग्यो। भारी बोक्न नपाएकै कारण पहिलोपटक उनको आँखाबाट आँशु झरे। जनप्रतिनिधीको जिम्मेवारी सम्हाल्दै गर्दा आज पनि उनको मस्तिष्कमा त्यी पुराना सम्झना ताजै छन्। उनलाई लाग्छ, यसरी पसिना बगाउँछु भनेर कस्सीने युवाले काम नपाएर अभावको डरले आँशु बगाउनु नपरोस्।
आफ्ना सपना पुरा गर्न नपाएर युवाकालमै हरेस खान नपरोस्। भरिया बन्न नपाएर अमिलो मन लिएर लुक्ला फर्केपछि उनी एक होटल साउको शरणमा पुगे। भारी मिलाई दिने बाहानामा होटल साहुले बिना तलब काम गर्नुपर्ने पस्ताव राखे। ओरालो लागेको हरिण झैँ समस्यामा थिए, जय कुवेर उनले नाई भन्न सकेनन्। बरु सपना देखे, साहुले भारी मिलाइदिन्छन् अनि ट्रेकिङ गएर पैसा कमाउँछु। त्यसैले होटल साहुको सर्त मानेर उनी बिना तलब काम गरेर बस्न तयार भए। त्यो होटलमा उनले बिना तलब तीन वर्ष पसिना बगाए। कहिले भाँडा माझे, कहिले कुक बने त बेला बखत साहुले भारी बोक्ने काम मिलाइदिँदा भरिया बने।
उनको उर्जाशील एक दशक ट्रेकिङ व्यवसायमा नै बितेको छ। ट्रेकिङकै शिलशिलामा उनी नेपालको पर्याटकीय क्षेत्र पुर्वमा एभरेष्ट बेसक्याम्प, गोक्योरी, आइलम्पिक हाइक्याम, आमलप्चो पास, रेन्जो पास आदि पुगेका अनुभव छ ।
त्यस्तै पश्चिमा पोखरा फेवाताल, फोक्सुन्डो ताल, माछा पुच्छ्रे, घोडेपानि, सिक्लेस, मनास्लु राउण्ड, जोम्सोम मुक्तीनाथ, गोसाईकुण्ड, लर्के पास आदी पर्यटकीय क्षेत्र समेत पुगेका छन्। यात्रा सहज थिएन त्यो भन्दा गाह्रो थियो जिन्दगीको यात्रा। त्यसैले यस्ता यात्रा गर्दा उनी जति पसिना बगाउँथे त्यो पसिनाले उनलाई खुशी दिन्थ्यो। किनकी उनी अभावमा थिए। उनको पसिनासँग पैसा साटिएको थियो। अनि अभावलाई पूर्ति गर्न आवश्यक थियो त्यहि पैसा।
समय बित्दै गयो ।
उमेर पनि परिपक्व हुँदै गयो । जीवनस्तर पनि केहि उक्सियो। उनले जोडी खोज्ने निधो गरे। प्रेमका मुनाहरु अंकुराउन थाले । सोही क्रममा हालको महाकुलुङ गाउँपालिका १ निवासी दिपजल कुलुङसँग उनको देखभेट भयो। देखभेट प्रेममा परिणत भयो। प्रेमले बिहेको रुप लियो। वि.सं २०५५ सालमा उनीहरुले बिहे गरे। बिवाह पछि गाउँमै बस्दै आएका राईको परिवार सँगै समाज प्रतिको जिम्मेवारी पनि बढ्दै गयो ।
सानै उमेर देखि समाज परिवर्तनको बाटोमा हिँडाउनुपर्छ भन्ने उनी विस्तारै विभिन्न संघ संस्थामा रहेर काम गर्न थाले । बिवाह सँगै गाउँमा एलजिपी संस्थामा काम गर्ने अवसर मिल्यो । उनी एकै चोटी ७० घरको संस्थापक मेनेजरको जिम्मेवारी सम्हाले ।
जुन बेला साविकको गुदेल गाविसमा ४१ वटा संघ सस्था रहेका थिए । जुन वेला ४१ वटा संघ संस्था मध्ये आफ्नो संस्था १ नम्वर बनाई जिल्लाबाट पुरस्कृत समेत बनाउन सफल भएको अनुभव उनीसँग छ।
जसले झनै समाज प्रतिको जिम्मेवारी बढेको महसुस भयो । क्रमिक रुपमा धेरै संघसस्थामा काम गर्ने अवसरहरु मिल्दै गयो । आफ्नै कार्यकालमा संस्था दर्ता गरेर क्लवको भवन बनाए । जुन भवन बनाई सके पछि साविकको गुदेल गाविसकै सबैभन्दा ठूलो धन राषिको कुलुङ जातीको महान चाड चाक्चाकुर मनाउन सफल भएका थिए ।
यसरी विभिन्न संघ संस्थामा काम गर्दै जाँदा सामुदायीक बन उपभोक्ता समितिको अध्यक्ष बने । अध्यक्ष भए लगत्तै त्रिखन्द सामुदायिक बन दर्ता, लसुनेखा सामुदायीक बन कार्यक्षेत्र विस्तार, सामुदायीक सस्था दर्ता, भवन निर्माणका लगाएतका सामुहिक काम गर्न सफल भए । आम सर्वसाधारण जनसमुदायले पनि उनलाई साथ दिदै गए ।
सबैको मन जित्दै गएका राईले काम गर्ने शिलशिलामा सवै संघ सस्थाहरुलाई प्रगतिको बाटोमा डो¥याई रहे । हाल बासुकी आधारभुत विद्यालयको बिद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल सदस्य र तिन कार्यकाल अध्यक्ष पदमा रही काम गरेका छन् । सो कार्यकालमा उनले प्राथामिक बिद्यालयलाई निम्न माद्यामिक बिद्यालय बनाउन सफल भए । हाल उक्त बिद्यालय सबैको नजरमा पर्छ ।
जग्गा अभाव हुँदाहुँदै पनि राईले टि.एल.सि. आठकोठे भवन र आर।सि।सि भवन बनाउन सफल भएका छन् । साथै दुर्गममा भएकाले सरकारी दरबन्दी कोटा कमै पुग्छन त्यस क्षेत्रमा ।
तर पनि राईले देउसी भैलो मागेर होस कुनै संघ संस्था सँग सहकार्य गरेर होस, आवश्यक शिक्षक राखि दिएका छन् । तीन जना शिक्षक देखि शरु भएको विद्यालयमा हाल १३ जना शिक्षक शिक्षीका कार्यरत छन् । यसरी विभिन्न संघ संस्थामा काम गर्दै जाँदा किराना पसल पनि शुरु गरे । जुन समयमा अहिलेको जस्तो यातायातको पहुँच थिएन । डोको र तोक्माको साहारा लिएर ३ दिनको पैदल यात्रा पछि संखुवा सभाको तुम्लीङटार पुगिन्थ्यो ।
तुम्लिङ्तारबाट ७० के।जी भारी आफैले बोकेर ल्याई किराना पसलबाट व्यापार शुरु गरेका राई किराना पसलमा मात्रै सिमित रहेनन् । गाउँमै पाईने विभिन्न जडीबुटीको पनि व्यापार सुुरु गरे । जुन व्यापारले धेरैलाई रोजगारी पनि दिलाएका छन् ।
यसरी व्यापार व्यावसाय गर्दै जाँदा उनले लाखौँ कमाए पनि र लाखौँ गुमाए पनि । सानै उमेर देखि उनी मादक पदार्थ र खराव साथीको संगतबाट टाढानै रहे । जहिले पनि स्वतन्त्र रुपमा रहनुपर्छ भन्ने व्यक्ती अन्याय र अत्याचारको विरुद्ध भने चर्को स्वरमा बोलिनै रहे । गतिशिल समय अघि बढ्दै गयो । विस्तारै उनले समाजलाई बुझदै गए ।
समाजलाई परिवर्तनको दिशामा डो¥याउनु पर्ने आवश्यक्ता देखे । परिवार पुरै कांग्रेसी भएपनि उनले विचार परिवर्तन गर्ने अठोट गरेको बताउछन् । जुन समयमा उनले नेकपा माओवादीको निति तथा सिद्धान्त अध्ययन गरे ।
जुन निति तथा सिद्धान्तले उनलाई आकर्षित तुल्यायो । उनले समाज परिवर्तनका लागि साथी मात्र नभई पार्टी पनि चाहिने कुरा महसुस गरेको बताए । सोही क्रममा उनी वि।स। २०५८ सालमा किसान संघ गुदेल तुमाउको अध्यक्ष, २०६० सालमा माओवादी पार्टी सदस्य, २०६० साल देखि नै गाउँपार्टी उपाध्याक्ष, २०६२ साल देखि गुदेल गाउँपार्टी अध्यक्ष, २०६५ सालमा जिल्ला सदस्य हुँदै हाल २०७४ को आम निर्वाचनमा भारी मतका साथ वडा अध्यक्षमा निर्वाचित भई काम गरी रहेका छन् । साथै २०७५ सालमा नेकापा एमाले सँगको एकता पछि जिल्ला समन्य समितिको सदस्य, नेकपा एमाले सँग पार्टि फुटपछि नेकपा माओवादी केन्द्रबाट जिल्ला समन्य समितिको सदस्य रहेका छन् ।
यसरी सरसर्ती हेर्ने हो जय कुवेर राई चट्टानमा जरा गाढेर उम्रिएका वरको बोट हुन्। उनलाई जनताको दुख, पिडा र अभाव राम्रोसँग थाहा छ। जनताको सुख र समृद्धिको लागि के गर्नुपर्छ राम्रोसँग हेक्का छ।
त्यसैले उनी प्रतिपक्षीले समेत प्रशंसा गर्ने जनप्रतिनिधी हुन्। जसको आलोचना भन्दा प्रशंसा धेरै हुन्छ। यो प्रशंसाले उनलाई प्रभावकारी काम गर्न दबाब दिइरहेको हुन्छ। फलस्वरुप उनको नेतृत्वमा एउटा वडाले परिवर्तनको आभाष गर्न पाएको छ।
स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार र विकासले गति लिएको छ। जुन कामको लागि उनलाई आफ्नै पार्टीबाट विजयी भएका रविन कुलुङ, कमला रसाईली, नारदमणी राई, युविका कुलुङको प्रत्यक्ष संलग्नता छ। अनि सम्पूर्ण वडाबासीको साथ र समर्थन छ।











प्रतिक्रिया