गृह पृष्ठ

प्रेम विवाहको विवादमा झडप हुदाँ २० जना घाइते, प्रहरीको गाडी जलाइयो


१३ फाल्गुन २०८१, मंगलबार ००:००


काठमाडौँ, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् । दुई समुदायका युवा युवतिबिच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ ।

करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो । नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले घटनाबारे भने,गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो ।

विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ । उनका अनुसार ५ जना स्थानीय १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए ।

गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबिच झडप भएको उनले बताए । विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए । झडपमा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल पठाइएको छ । अहिले अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार ००:००