यो घटनाको केन्द्रमा थिए– भारतीय क्याप्टेन स्मित मच्छार । विमानमा सवार यात्रुहरुको ज्यान जोगाउन उनले आफ्नो ज्यान जोखिममा राखेर गरेको बहादुरीपूर्ण कामको अहिले विश्वभर चर्चा भइरहेको छ ।
को हुन् स्मित मच्छार ?
टाइम्स अफ इण्डियाका अनुसार स्मित मच्छार भारत महाराष्ट्र राज्यको मुम्बईस्थित घाटकोपरका हुन् । उनी भारतका एक अनुभवी व्यावसायिक पाइलट हुन् । सार्वजनिक व्यावसायिक प्रोफाइल तथा भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उनी मुम्बईमा आधारित रहेर लामो समय विमान उडानमा सक्रिय थिए ।
मच्छारले आफ्नो व्यावसायिक उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए । उनी सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका थिए र करिब ११ वर्ष त्यहाँ काम गरेका थिए । त्यस अवधिमा उनी सिनियर क्याप्टेनको पदसम्म पुगेका थिए ।
सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । यस भूमिकामा पाइलटलाई प्रशिक्षण दिने, उनीहरूको उडान क्षमताको मूल्यांकन गर्ने तथा व्यावसायिक उडानका क्रममा आवश्यक मापदण्ड पालना गराउने जिम्मेवारी हुन्छ ।
सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए । यसको अर्थ उनले नयाँ पाइलटका रूपमा नभई यसअघि नै हासिल गरेको कमान्ड अनुभवका आधारमा क्याप्टेनको जिम्मेवारीमा प्रवेश गरेका थिए ।
उनको सार्वजनिक लिङ्क्डइन प्रोफाइलमा बोइङ ७३७–८०० तथा ७३७ म्याक्सका विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव उल्लेख छ । त्यसमध्ये स्पाइसजेटमा मात्रै ६ हजार ४०० घण्टाभन्दा बढी पाइलट–इन–कमाण्डका रूपमा उडान गरेको विवरण सार्वजनिक भएको छ ।
३० सेप्टेम्बरमा विमानभित्र के भयो ?
फ्लाई दुबईको एफजेड–१०७३ जहाज दुबईबाट तेल अभिभतर्फ गइरहेको थियो । रोयटर्सका अनुसार सो विमानमा १७४ जना थिए ।
उडानका क्रममा ककपिटमा रहेका क्याप्टेन मच्छार र उनका सहपाइलटबीच गम्भीर झडप भएको थियो । उपलब्ध प्रारम्भिक रिपोर्टअनुसार सहपाइलटले मच्छारमाथि धारिलो हतियारले आक्रमण गरेका थिए ।
घटनाको क्रममा विमानको उचाइ तीव्र गतिमा घटेको थियो । रोयटर्सका अनुसार विमान करिब १४ हजार फिट तल झरेको थियो । केही समयपछि विमानले आपत्कालीन संकेत प्रसारण गरेको थियो ।
तर घटनाको ठ्याक्कै क्रम, आक्रमणको उद्देश्य र ककपिटमा भएको सम्पूर्ण गतिविधिबारे अनुसन्धान जारी छ । फ्लाई दुबईले पनि घटनाको कारण र उद्देश्यबारे अहिले नै निष्कर्ष निकाल्न नहुने बताएको छ ।
घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल
घटनाको सबैभन्दा उल्लेखनीय पक्ष मच्छारले गम्भीर रूपमा घाइते अवस्थामा गरेको प्रयास हो ।
रिपोर्टअनुसार आक्रमणबाट घाइते भएपछि पनि मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए । त्यसपछि यात्रु र चालक दलका सदस्यहरू ककपिटभित्र प्रवेश गर्न सके र आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरे ।
विमानमै रहेका फ्लाई दुबईका अन्य पाइलटहरूले त्यसपछि ककपिटको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सो विमानलाई इजरायलको तेलअविव नपुग्दै साउदी अरबको तबुकतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो ।
यस घटनामा मच्छारको भूमिकालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको साहस र व्यावसायिक प्रतिक्रियाको चर्चा गरेका छन् । तर विमान सुरक्षित अवतरण गराउने काममा यात्रु, चालक दल र विमानमै रहेका अन्य पाइलटहरूको समेत भूमिका रहेको रिपोर्टहरूले देखाएका छन् ।
अहिले कस्तो छ स्वास्थ्य अवस्था ?
आपत्कालीन अवतरणपछि मच्छारलाई तबुकस्थित अस्पताल लगिएको थियो । उनको शल्यक्रिया गरिएको र अवस्था स्थिर रहेको पछिल्ला रिपोर्टमा उल्लेख छ । फ्लाई दुबई र भारतीय अधिकारीहरू उनको परिवारसँग सम्पर्कमा रहेको बताइएको छ ।
घटनामा संलग्न सहपाइलटलाई पनि पक्राउ गरिएको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको रिपोर्टहरूमा उल्लेख छ । सहपाइलट ओमानी नागरिक भएको विवरण विभिन्न रिपोर्टमा आएको छ, यद्यपि घटनाको पूर्ण विवरण र उद्देश्यबारे आधिकारिक अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।
मोदी, ट्रम्प र नेतन्याहूले गरे प्रशंसा
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मच्छारको प्रशंसा गरेका छन् ।
ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका भारतीय पाइलटको प्रशंसा गर्दै मच्छारलाई ‘हिरो’ भनेका छन्।
यसैगरी नेतन्याहूले गम्भीर रूपमा घाइते भए पनि ककपिटको ढोका खोल्न र यात्रु तथा चालक दललाई हस्तक्षेप गर्ने अवसर दिन मच्छारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि मच्छारलाई ‘हिरो’ भन्दै संकटका बेला उनले देखाएको साहसको प्रशंसा गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।











प्रतिक्रिया