सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न माग गरेका थिए । तर, अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म नडाकेपछि आफुहरु बैठकका लागि अगाडि बढेको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । ‘विधानको व्यवस्थाअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्यौं । तर, अध्यक्षज्यूले बैठक डाक्नुभएन । अब मेरो नेतृत्वमा बैठक डाकेर आवश्यक निर्णय गर्छाैं’ उनले अनलाइन खबरसँग भने ।
उनीहरुले अहिले ललितपुर सादोबाटोमा रहेको मुख्यालयको तालामा खोल्दैछन् । ताला खोलेर १३ गतेको बैठकका लागि पत्र काट्ने एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले जानकारी दिए । १३ गते बैठक बसेर सरकार, एएफसी र फिफालाई सहजीकरणका लागि पत्र लेख्ने लामाले बताए ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।
जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका छैनन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्र्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।











प्रतिक्रिया