गृह पृष्ठ

राष्ट्रपति पौडेलले गरे पाटनस्थित कृष्ण मन्दिरमा दर्शन र पूजाआराधना


१० भाद्र २०८१, सोमबार ००:००


काठमाडौँ,राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन्। राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन्।

कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित संघीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन समेत गरेका छन । हरेक बर्ष श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ।

भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ। ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै देशभरका कृष्णमन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ००:००