Breaking News Post

विदेशमा कमाएको पैसा डिजिटल बल्छीमा स्वाहा ! लाखौँ गुमाउँदा पनि कानुनी डरले मुख खोल्दैनन् पीडित


१२ मंसिर २०८३, शुक्रबार ००:००


काठमाडौं । दसैँको मुख थियो । घरमा आमाबुबा, श्रीमती र सानो छोरा बाटो हेरेर बसेका थिए । वर्षौंपछि परदेशी आउँदैछ, यसपालिको चाडपर्व भव्य हुनेछ भन्ने सबैलाई आशा थियो ।

रोमानियामा वर्षौं पसिना बगाएर ३६ वर्षीय ती युवक १ असोजमा काठमाडौं ओर्लिए । उनका लागि जीवनको सबैभन्दा ठुलो पुँजी थियो, विदेशमा रगत-पसिना बेचेर जोगाएको साढे १२ लाख रुपैयाँ ।

काठमाडौंबाट जहाज चढेर उनी सोही दिन नेपालगञ्ज पुगे । त्यहाँबाट घर बर्दिया जानु थियो । परदेशबाट आएको, लगेज धेरै भएको र परिवारलाई छिटो भेट्ने हुटहुटीका कारण उनले स्कार्पियो गाडी नै रिजर्भ गरेर सानका साथ घर जाने सोचे ।

तर, गाडी कुर्दै गर्दा नेपालगञ्जकै एक क्याफेमा उनका आँखा मोबाइलमा घोरिएका केही युवामाथि पर्‍यो । ती युवाहरू मोबाइल स्क्रिनमा औंला नचाउँदै खुसी भइरहेका थिए । उत्सुकतावश उनले नजिकै गएर सोधे, “के हुँदैछ साथीहरू यता ?”

त्यहीँका एक युवकले उनलाई मोबाइल स्क्रिन देखाउँदै पैसा कमाउने ‘गज्जबको काइदा’ सुझाए ।

“उनीहरूमध्ये एक जनाले मलाई एउटा कोड दिए,” ती युवकले आफ्नो पीडा सुनाउँदै भने, “त्यसको केही समयमै मलाई एउटा लिङ्क आयो, जसको नाम nabil88 थियो ।”

नेपालको प्रतिष्ठित ‘क’ वर्गको वाणिज्य बैंकसँग नाम मिल्दोजुल्दो देखेपछि उनलाई कुनै शंका लागेन । उनले बैंककै आधिकारिक अनि भरपर्दो प्रणाली होला भन्ने ठाने । आफैँ हामफाल्नुअघि उनले छेउका युवाले खेलिरहेको शैली नियाले । केटाहरूले स्क्रिनमै पैसा जितिरहेको देखेपछि उनको लोभ जाग्यो ।

“मैले पाएको लिङ्क खोलेर अकाउन्ट बनाएँ । मलाई जसले रिफर गरेको थियो, उसले बोनस पनि पाउने रहेछ,” उनले भने, “त्यसपछि त्यसमा रकम डिपोजिट गर्नुपर्ने भयो ।”

प्लेटफर्ममा नेपालका प्रायः सबै वाणिज्य बैंक, डिजिटल वालेट र भुक्तानी प्रदायकको विकल्प खुला थियो । उनले एउटा विकल्प छानेर रकम जम्मा गर्ने प्रक्रियामा लागे । तत्कालै १० मिनेटका लागि मान्य हुने एउटा क्यूआर कोड आयो । उनले कोड स्क्यान गरे । त्यसमा ‘एमकेटी मिट शप प्रालि’को मर्चेन्ट खाता थियो । पहिले नै दुई हजार रुपैयाँ जम्मा गर्ने भनेर अप्सन छानेकाले सोझै २ हजार पठाउन लागेको देखियो । उनले आफ्नो पिन हाल्दै रकम पठाइदिए । त्यसको केही मिनेटमै उनको ‘nabil88’ को भर्चुअल वालेटमा २ हजार रुपैयाँ देखियो । त्यसपछि सुरु भयो ‘आइस फिसिङ’ को जालो ।

के हो ‘आइस फिसिङ’ ?

‘आइस फिसिङ’ भर्चुअल रूपमा हिउँ जमेको ठाउँमा बल्छी थापेर माछा मार्ने ‘डिजिटल खेल’ हो । यस खेलमा सहभागी हुन निश्चित रकम तिरेर भर्चुअल बल्छी किन्नुपर्छ । त्यो बल्छी थापेपछि स्क्रिनमा विभिन्न आकारका माछा बल्छीमा पर्छन् ।

नियम सामान्य तर डरलाग्दो जुवाको जस्तै छ । कहिले माछा आफूले खर्च गरेभन्दा निकै कम मूल्यको आउँछ भने कहिले निकै बढीको । बढी मूल्यको माछा पर्दा जितेको र कम पर्दा हारेको ठहरिन्छ ।

सुरुवातमा उनले रकम थप्दै गए, केही जित्दै पनि गए । जितेको रकम केही समयमै बैंक खातामा आइपुग्थ्यो । यही क्षणिक नाफाले उनलाई यो कुनै ठगी नभई ‘सजिलो आम्दानीको बाटो’ हो भन्नेमा पूर्ण आश्वस्त बनाइदियो ।

“सुरुवाती समयमा जित्दै हार्दै बराबरजस्तै भइरहेको थियो । लगभग ५ पटक हारेपछि छैटौं पटक सबै रकम असुल हुन्थ्यो,” उनले खेलको मनोवैज्ञानिक पासो सम्झिए, “यसले त मान्छेलाई आफू प्रेडिक्सन (अनुमान) गर्न सक्ने ठुलो विज्ञ नै भएँ जस्तो भान पार्ने रहेछ ।”

उनी त्यही भ्रममा परे । केही राउन्डपछि ‘अब त पर्छ-पर्छ’ भन्ने सम्भावनाको खेलले उनलाई अन्धो बनायो । यथार्थमा त्यहाँ कुनै सम्भावनाको प्राकृतिक नियम थिएन, त्यो प्रयोगकर्तालाई फसाउन बनाइएको स्वचालित एल्गोरिदम थियो । प्रकृति भने जुवाको जस्तो थियो ।

गुमेको रकम फिर्ता ल्याउने र थप जित्ने धुनमा उनले बाजी बढाउँदै लगे । बैंक खाताको दैनिक ३ लाखको सीमा सकियो । उनले कनेक्ट आईपीएसमार्फत लगातार रकम खन्याउँदै गए । बिच-बिचमा ठुलो रकम नपरेको पनि होइन, तर गुमेको साढे १२ लाख फिर्ता ल्याउने अन्धो दौडमा उनी यसरी होमिए कि उनले आफ्नो सारा बचत रित्तिएको पत्तै पाएनन् ।

केही घण्टाअघिसम्म स्कार्पियो रिजर्भ गरेर घर जाने सोचमा रहेका ती युवकसँग अन्त्यमा गाडी भाडा तिर्नेसम्म पैसा बाँकी रहेन ।

“कस्तो मूर्ख रहेछु जस्तो लाग्यो,” ती युवकले भक्कानिँदै भने, “म कसरी यो जालोमा फसेँ भन्ने मात्र दिमागमा घुमिरहन्छ । अरूले कमाएको देख्दा लहलहैमा लागेर म पूर्ण रूपमा डुबेँ ।”

न परिवारलाई भन्न सक्ने, न प्रहरीमा जान सक्ने

वर्षौंपछि रित्तोहात घर फर्किंदा परिवारलाई के जवाफ दिने ? त्योभन्दा ठुलो मानसिक तनाव उनको जीवनमा कहिल्यै आएको थिएन । अन्ततः उनले घर पुगेर बाटोमै आफ्नो सबै पैसा लुटिएको तर परिवारले चिन्ता गर्लान् भनेर कसैलाई खबर नगरेको झुटो कथा रचे ।

“घर पुगेपछि परिवारले तत्कालै प्रहरीमा उजुरी दिनुपर्छ भन्न थाले,” उनले भने, “जुवा खेलेर हारेँ भन्दा त उल्टै आफैँ थुनिन्छु । न प्रहरीमा उजुरी दिने आँट छ, न कसैलाई सत्य बताउन सक्छु ।” गोपनीयताका लागि नाम गोप्य राखिएका यी पात्रको घटना प्रतिनिधिमूलक मात्र हो । यस्ता सयौं नेपाली छन्, जो यही बेटिङ भनिएको प्लेटफर्ममा परेर लाखौं गुमाइरहेका छन् ।

सामाजिक सञ्जालमा ‘चिपफेक’ को बिगबिगी

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा ‘आइस फिसिङ’ जस्ता खेलको अस्वाभाविक प्रचार देखिन्छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), पूर्वसांसद तथा उद्यमी विनोद चौधरी, टेलिभिजन प्रस्तोता तथा कलाकारको अनुहार र आवाज जोडेर बनाइएका नक्कली ‘चिपफेक’ भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । यसअघि टेकपानाले यस्ता भ्रामक विज्ञापनबारे समाचार प्रकाशन गरिरहेको छ । पढ्नका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

भिडिओमा ती प्रतिष्ठित व्यक्तिले नै आफूले यो प्लेटफर्मबाट लाखौं कमाएको र अरूलाई पनि खेल्न सुझाएको जस्तो देखाइन्छ । यस्ता भ्रामक विज्ञापनमा हजारौं नेपालीले विश्वास गरेर कमेन्ट गर्ने र लिङ्क माग्ने गरेको देखिन्छ ।

तर, यति ठुलो सञ्जाल र ठगी फैलिँदा पनि नेपाल प्रहरीको साइबर ब्युरोमा भने ‘आइस फिसिङ’ कै नाम तोकेर खासै उजुरी पुग्ने गरेको छैन ।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी सामाजिक सञ्जालमा देखिएको व्यापकता र प्रहरीमा पर्ने उजुरीको अनुपात बिल्कुलै फरक रहेको बताउँछन् ।

“सामाजिक सञ्जालमा देखिएको सक्रियता हेर्दा त यस्तो स्क्याम व्यापक रूपमा छ जस्तो देखिन्छ,” एसपी अवस्थी भन्छन्, “तर, यो एक प्रकारको जुवा हो । जुवा खेल्न, खेलाउन र विज्ञापन गर्नु नेपालको कानुनअनुसार दण्डनीय कसुर हो । त्यही डरले पनि होला, यसमा फसेकाहरूको आइस फिसिङमै रकम डुबेको भनेर उजुरी परेको देखिएको छैन ।”
बैंक र वित्तीय संस्थाको नाम दुरुपयोग गर्दै नयाँ ठगी

नेपालका आधिकारिक वित्तीय संस्थाको नाम जोडेर विश्वास जित्ने खेल गिरोहले चलाइरहेको छ । परीक्षणका क्रममा ‘nabil88’ मात्र नभई ‘khalti88’, ‘esewa88’ जस्ता नामबाट पनि यस्ता बेटिङ र गेमिङ साइट सञ्चालन भइरहेको पाइएको छ ।

यति मात्र होइन, गुगल प्लेस्टोर वा आधिकारिक माध्यममा नभएका असुरक्षित एपीके फाइल डाउनलोड गर्न लगाएर प्रयोगकर्ताको मोबाइल डिभाइस नै नियन्त्रणमा लिने जोखिम उत्तिकै छ ।

साइबर ब्युरोका एक अनुसन्धान अधिकृतका अनुसार यस्ता प्लेटफर्मले आफूलाई क्यासिनो र बेटिङ प्लेटफर्मका रूपमा चिनाएका हुन्छन् ।

“रकम पठाउने बेला प्रयोगकर्तालाई रिमार्क्समा ‘बेटिङ’ वा ‘जुवा’ नलेख्न भनिएको हुन्छ । भुक्तानी प्रणाली वा बैंकले शंकास्पद कारोबार भनेर खाता रोक्का गर्छ कि भन्ने डर उनीहरूलाई हुन्छ,” ती अधिकृत भन्छन्, “यसमा लाग्नेलाई पनि आफूले खेलेको चिज जुवा नै हो भन्ने थाहा हुन्छ । पछि रकम डुबेपछि अर्कै बहाना बनाएर उजुरी दिए पनि अनुसन्धानका क्रममा जुवा खेलेको खुलेमा उल्टै कानुनी फन्दामा परिने डरले रकम डुबाउनेहरू खुलेर प्रहरीसमक्ष आउँदैनन् ।”

साइबर ब्युरोका प्रवक्ता अवस्थी यस्ता अनलाइन बेटिङ प्लेटफर्मबाट टाढै रहन नागरिकलाई सचेत गराउँछन् । उनका अनुसार यस्ता साइटको कुनै आधिकारिकता हुँदैन । न यी साइटहरू कताबाट सञ्चालित छन् भन्ने थाहा हुन्छ, न त यसका सञ्चालक नै भेटिन्छन् । यी प्लेटफर्मले कारबाहीबाट बच्न हरेक दिन वा हप्तापिच्छे डोमेन नेम परिवर्तन गरिरहन्छन् । प्रहरी उपरीक्षक अवस्थीका अनुसार यो सामान्य बेटिङ मात्र नभई बेटिङको आवरणमा रकम लुट्ने संगठित स्क्याम हो ।

प्रतिबन्धको घोषणा एकातिर, नयाँ डोमेनको बाढी अर्कातिर

वर्तमान सरकार गठन हुँदै गर्दा सार्वजनिक गरिएको १०० दिने कार्यसूचीमा ‘२४ घण्टाभित्र अनलाइन बेटिङ साइट बन्द गर्ने’ घोषणा समावेश थियो ।

सरकारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले लाखौं बेटिङ साइटमाथि प्रतिबन्ध लगाउने काम गरे । तर, प्राविधिक रूपमा एउटा डोमेन ब्लक हुनासाथ सञ्चालकले नयाँ नम्बर वा अक्षर थपेर तत्कालै अर्को डोमेन र एपीके फाइल बजारमा ल्याइहाल्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म करिब तीन लाख बेटिङ साइटको लिङ्क डाउन गरिएको छ । “हरेक दिन नयाँ नयाँ बेटिङ साइटहरू सञ्चालनमा आइरहेका हुन्छन्,” लामिछानेले भने, “हाम्रो सूचनामा आएका साइट हामी तत्कालै बन्द गराउँछौं । हरेक दिन कम्तीमा पनि ३-४ वटा बेटिङ प्लेटफर्मका लिङ्कहरू डाउन भइरहेका हुन्छन् ।”

नियमनकारी निकाय र प्रविधि कम्पनीको आँखा छल्दै माछा मार्ने नाममा नेपालीको जीवनभरको कमाइ स्वाहा पार्ने यो डिजिटल धन्दा अहिले व्यापक रूपमा फैलिरहेको छ । क्षणभरमै धनी बन्ने लोभ र लहलहैमा लाग्दा एकातिर सर्वस्व गुम्ने र अर्कातिर उल्टै जेल परिने भयले पीडित भने मौन बस्ने गरेको देखिन्छ ।

प्रकाशित : १२ मंसिर २०८३, शुक्रबार ००:००