Breaking News Post

सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?


२६ आश्विन २०८३, सोमबार ००:००


२६ असोज, काठमाडौं । सेयर बजारमा सबैभन्दा शक्तिशाली समूह हो– बैंकिङ । कुल बजार पूँजीकरणमा बैंकिङको हिस्सा २५.४४ प्रतिशत रहेको छ । तसर्थ अरुभन्दा यो समूहको सूचकले बजारलाई ठूलो प्रभाव पार्दछ । सामान्यतः बैंकिङको गति जस्तो रहन्छ, नेप्सेको गति त्यस्तै रहने मान्यता छ । तर यतिबेला नेप्से र बैंकिङको गति भने एकअर्कासँग ध्रुवीकरण भएका छन् । बजारमा बैंकिङ समूहले राम्रो प्रदर्शन गरिरहेको छ, तर नेप्सेको प्रदर्शन कमजोर देखिएको छ।

शुक्रबार बैंकिङ समूह सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्दा समग्र बजारको परिसूचक नेप्से ०.६६ प्रतिशत मात्रै बढ्यो । सोमबार बैंकिङ १.०१ प्रतिशत बढ्दा नेप्से ०.१५ प्रतिशत मात्रै बढ्यो ।

बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै उच्च हो । अर्कोतर्फ समग्र बजारको परिसूचक नेप्से भने चैत १२ यता १२ प्रतिशतले घटेको छ । चैत १२ गते २९५० अंकमा रहेको नेप्से हाल २५९५ अंकमा छ ।

नेप्से ओरालो झरिरहँदा पनि बैंकिङ समूह उकालो लागिरहेको छ । बैंकिङ समूहको उत्कृष्ट प्रदर्शनकै कारण नेप्सेको ओरालो गति सम्हालिएको लगानीकर्ता बताउँछन् ।

बजारमा बैंकिङको प्रदर्शन कसरी सुधारियो ?

बैंकहरूको वित्तीय विवरणमा त्यति धेरै प्रगति देखिएको छैन । खासगरी नउठेको साँवा, ब्याज उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढेको छ। जसले वितरणयोग्य नाफामा केही वर्षदेखि नै असर देखिँदै आएको छ । कतिपय बैंकले केही वर्षदेखि नै लाभांश दिन सकिरहेका छैनन् ।

तर विगतमा नउठेको साँवा, ब्याज अशुली बढ्ने अनुमान बैंकहरूको छ । यसरी अशुली हुने रकम सिधै नाफामा देखिने मात्रै होइन, लगानीकर्तालाई लाभांश वितरण योग्य हुन्छ ।

‘अहिलेको निष्क्रिय कर्जा अब योभन्दा धेरै बढ्दैन भन्ने अनुमान धेरैको छ, अब बरु साँवा, ब्याज अशुल हुँदै जाला र त्यसको सिधा लाभ सेयरधनीलाई हुन्छ भन्ने आश लगानीकर्तामा बढेको छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

यो पटककै लाभांशमा पनि केही नयाँ संकेत देखिएको छ । विगतमा लाभांश कत्ति पनि नदिएका बैंकले यस पटक लाभांश घोषणा गरिसकेका छन्, अर्को वर्ष धेरैको लाभांश दर बढ्न सक्ने लगानीकर्ताको अनुमान छ ।

यो वर्ष दशैंअघि नै सेयरधनीलाई केही बैंकले लाभांश प्रदान गरिसकेका छन् । हालसम्म सूचीकृत ९ वाणिज्य बैंकले सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

तीमध्ये केहीले साधारणसभा सम्पन्न गरी नगद लाभांश सेयरधनीको बैंक खातामा प्रदान गरिसकेका छन् । ६ बैंक (प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल, लक्ष्मी सनराइज, नेपाल एसबीआई)ले लाभांश घोषणा गर्न बाँकी छ ।

यो वर्ष ४ बैंक (एनआईसी एसिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु) लाभांश दिन सक्ने अवस्थामा छैनन् । पोहोर ६ बैंक (एनआईसी एसिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, कुमारी, नेपाल)ले लाभांश दिएका थिएनन् ।

कुन बैंकले कति दिए लाभांश ?

बैंकनगदबोनस सेयरकुल लाभांश
सिद्धार्थ१०१०२०
नबिल१०.८५१५.८०
एभरेस्ट१०५१५
ग्लोबल आईएमई६४१०
सानिमा १०१०
एनएमबी ७७.०
माछापुच्छ्रे३३६.०
सिटिजन्स०.२३.८४.०
कुमारी २.१०२.१०

त्यस्तै बैंकहरूका लागि लगानीका अन्य माध्यममा लचिलो नीति अपनाइनुले पनि यो क्षेत्रका लागि अनुकूल बनेको ढुंगानाले बताए । हालै वाणिज्य बैंकहरुले सेयर तथा डिबेन्चरमा गरेको लगानी ४५ दिनको होल्डिङ अवधिपछि नै बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि ६ महिनाको व्यवस्था तोकिएको थियो ।

अर्कोतर्फ बजारमा बैंकिङ र हाइड्रोपावर समूहलाई तुलना गर्ने गरिन्छ । ‘जलविद्युत् समूह सुस्ताउँदा बैंकिङ अगाडि बढ्ने र बैंकिङ सुस्ताउँदा जलविद्युत् अघि बढ्ने गरेको पाइन्छ,’ ढुंगानाले भने ‘यो पटक बैंकिङले राम्रो प्रदर्शन गरेको छ ।’

रसुवा बाढीपछि केही जलविद्युत् आयोजनामा ठूलो नोक्सानी पुग्यो, त्यसपछि अन्य जलविद्युत् कम्पनीका लगानीकर्ता समेत यो क्षेत्रको लगानीप्रति उत्साहित हुन सकेनन् । ‘जलविद्युत् क्षेत्रतिर जाने लगानी पनि बैंकिङतिरै मोडियो, जसले गर्दा अरु समूहभन्दा बैंकिङले राम्रो प्रदर्शन गरेको देखिन्छ’ ढुंगानाले भने ।

बैंकको सेयर तुलनात्मक रुपमा सस्तो रहेकाले पनि यसप्रति आकर्षण बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘लगानीका लागि हेरिने एउटा प्रमुख सूचक मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो, जुन वाणिज्य बैंकहरूको सबैभन्दा कम छ, यसले गर्दा बैंकको सेयर लगानीका लागि अझै उपयुक्त देखिएको छ’ उनले भने ।

एक कित्ता सेयरले गर्ने आम्दानी र त्यसको बजार मूल्यलाई पीई रेसियोले जनाउँछ । सामान्य भाषामा कुनै कम्पनीको पीई रेसियो १० हुनु भनेको वार्षिक १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १० रुपैयाँ तिर्नु जनाउँछ । पीई रेसियो जति न्यून, लगानीका लागि त्यति उपयुक्त मानिन्छ ।

यतिबेला ब्याजदर अति न्यून बिन्दुमा झरेकाले पनि ब्याजदरभन्दा केही बैंकको लाभांश राम्रो रहेको उनले बताए । अझै पनि ३ बैंक (प्रभु, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा)को सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । बर्सेनि लाभांश दिइरहेका बैंकको सेयर मूल्य साढे २ सय हाराहारीमा पाइन्छ ।

‘साढे २ सयदेखि ३ सय रुपैयाँसम्म राम्रा बैंक, जसले बर्सेनि लाभांश दिइरहेका छन्, तिनको सेयर पाइन्छ, तसर्थ यस्तो बेला मूल्य नबढे पनि लाभांशबाट लाभ मिल्ने भएकाले बैंकहरु रोजाइमा परेका छन्’ उनले भने । त्यस्तै संस्थागत लगानीकर्ता पनि वाणिज्य बैंकका सेयरमै आकर्षित हुने गरेको उनले बताए । ‘लाभांश दिने, स्थिर कम्पनी संस्थाका रोजाइमा पर्छन्, त्यसका लागि वाणिज्य बैंक उपयुक्त छन्’ उनले भने ।

बैंकहरूले बचतमा दिने ब्याजदर हाल साढे २ देखि ३ प्रतिशतको बीचमा छ, तसर्थ साढे २ सय रुपैयाँको सेयर मूल्य भएको बैंकले १० प्रतिशत लाभांश दिएका छन् ।

प्रकाशित : २६ आश्विन २०८३, सोमबार ००:००