Breaking News Post

अदालतबारे संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ


६ आश्विन २०८३, मंगलबार ००:००


६ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतको विषयलाई लिएर दुई सांसदबीच सवाल–जवाफ भएको हो ।

रास्वपाका सांसद न्यौपानेले सर्वोच्च अदालत परिवर्तनको पक्षमा नदेखिएको भन्दै विगतमा पनि यस्तो देखिएको भनेर प्रश्न उठाएका थिए ।

‘पछिल्ला घटनाक्रमहरु नियाल्दा अदालतले परिवर्तनलाई आत्मसाथ गरेजस्तो महशुस हुँदैन’, उनले भनेका थिए, ‘न्यायालय कस्तो छ भनेर न्यायाधीश, वकिल, कर्मचारी, नेतालाई नसोधौँ । मुद्दा हारेर रन्थनिएको मुद्दावालालाई पनि नसोधौँ । मुद्दा जितेर हातमा फैसला बोकेको बहादुरलाई सोध्नुहोस् । उसले पनि भन्ने छ, यो न्यायालयले न्याय दिँदैन ।’

न्यायालय बोकेर हिँड्दा स्वस्थानीको कथाजस्तै हुने भन्दै टिप्पणी गरे । उनले भने, ‘सतीदेवीलाई महादेवले बोकेजस्तो, ठाउँ ठाउँमा पतन हुँदै जाने हो । तर, मस्तिष्क कहाँ पतन भयो स्वस्थानीमासमेत विवाद छ । यस्तै अवस्थाको अदालत बोकेर हिँड्ने हो भने न्याय कहाँ पतन भयो भन्ने, पत्तै नपाइ हामी सकिन्छौं ।’

रास्वपा सांसद न्यौपानेले अदालतप्रतिको गरेको यस्तो टिप्पणीमा एमाले सांसद बरालले नियमापत्ति गर्दै प्रतिवाद गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा अदालतसमेत जलेको स्मरण गर्दै उनले फेरि अदालतबाट अनावश्यक टिप्पणी सैह्य नहुने बरालले बताए ।

नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँग व्याख्या गरेको भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आ–आफ्ना भूमिकामा राखेको बताए ।

‘न्यायलयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ । जेनजी आन्दोलनको बेलामा सर्वोच्च अदालत लगायतका धेरै अदालतहरूमाथि आगो लगाएर यो देशको न्याय व्यवस्थामाथि हमला गरियो । अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ ?’, सांसद बरालले प्रश्न गरे ।

न्यायमुर्तिमाथिको हमला स्वीकार्य नरहेको भन्दै त्यस्ता अभिव्यक्ति सच्याउन उनले माग गरे ।

 

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार ००:००