गृह पृष्ठ

अबको १५-२० दिनभित्र अध्यादेश संसद् आइसक्छ : प्रधानमन्त्री ओली


४ माघ २०८१, शुक्रबार ००:००


प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् । सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाको २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे ।

अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५-२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौं ।’

साथै, उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए ।

एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरू खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरू तड्पिएका छन् । हाम्रा नीतिहरू,कानुनहरू बन्नुपर्छ,काम गर्नका लागि, काम रोक्नका लागि होइन प्रधानमन्त्री ओलीले भने,‘रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्‍याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानुनहरू परिवर्तन गर्नुपर्छ।

प्रकाशित : ४ माघ २०८१, शुक्रबार ००:००