मुख्य खवर

आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द,एक जना पक्राउ


१५ माघ २०८१, मंगलबार ००:००


ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्। मंगलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार मादेन सोमबार भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली दुई जनालाई लगेको थियो ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ । बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बजार र विद्यालय र कलकारखाना खुला रहेको डिएसपी रावलले जानकारी दिए । बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको उनले बताए ।

प्रकाशित : १५ माघ २०८१, मंगलबार ००:००