काठमाडौँ,भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ । आज भक्तपुरको सूर्य विनायक नगरपालिका, सूर्य विनायक क्षेत्र प्रबन्ध समिति र सूर्य विनायक युवा क्लबको संयुक्त आयोजनमा गणेश जात्रा गरिएको छ ।
गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगर परिक्रमा गराइ विभिन्न मन्दिर मन्दिर लग्ने र अन्तिममा सूर्य विनायक चोकमा पुगी भोज प्रसाद ग्रहण गरी समापन गर्ने गरिन्छ ।
यो जात्रा सूर्यविनायक मन्दिरबाट सुरु हुने प्रचलन रहिआएको छ । आजको दिन काठमाडौँ उपत्यकासहित देशभरका गणेश मन्दिरमा गणेश जात्रा गर्ने परम्परा छ ।
सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो । गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
बिहान हरितालिका तीज को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ । नेवार समुदायले यो पर्वलाई चथाः नामले मनाउने गर्दछन् ।











प्रतिक्रिया