सोलुखुम्बु – नेकपा एमालेको प्रदेश कमिटी सदस्य तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।
पार्टी भित्रका खराब प्रवृत्ति, एकल निर्णय, हैकमवादी, सामन्तबादी सोचका कारण पार्टीभित्र बस्न नसक्ने भन्दै राईले एमाले परित्यागको घोषणा गरेकी हुन् । उनले शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै १२ बर्षको उमेरमा अनेरास्ववीयूको प्रारम्भिक अध्यक्ष बनेर शुरु गरेको नेकपा एमालेको राजनीतिक यात्रा अन्त्य गरेको उल्लेख गरेकी छिन् ।
२०७४ मा एमालेबाट सोलुदुधकुण्ड नगरपालिकाको उपमेयरमा निर्वाचित राईले जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सफलतापुर्वक विताएको दाबी गरेकी छिन् । एमाले स्रोतका अनुसार राईले पार्टीबाट मेयर पदका लागि दाबी गरेकी थिइन् । मेयरमा कांग्रेस त्यागेर एमाले प्रवेश गरेका आङकाजी शेर्पालाई मेयरको उम्मेदवार बनाउने पार्टीको तयारीपछि उपमेयर नछाड्ने अडानमा थिइन् ।
तर मनोनयनको अन्तिम समयमा एमालेबाट सोलुदुधकुण्ड नगरपालिकामा मोहन कुमारी कार्कीलाई उम्मेदवार बनाउने निर्णय लिएपछि रुष्ट बनेकी राईले पार्टी परित्यागको घोषणा गरेको अनुमान गरिएको छ । एमाले त्यागेर छुट्टै फोरमबाट अघि बढ्ने बताएकी राईले आगामी यात्राको बारेमा प्रष्ट पारेकी छैनन् ।











प्रतिक्रिया