Breaking News Post

काठमाडौँ उपत्यकामा आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै


९ आश्विन २०८३, शुक्रबार ००:००


काठमाडौँ । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ । हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो ।
मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो । देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने जीवित देवी कुमारीको रथलाई इन्द्रजात्राका अवसरमा काठमाडौँका पुराना बस्तीहरू हुँदै नगर परिक्रमा गराइन्छ । यस रथयात्रालाई देवीको नगर परिक्रमा र सर्वसाधारण भक्तजनका लागि प्रत्यक्ष दर्शन तथा पूजाआजाको अवसरका रूपमा लिइन्छ । यसले काठमाडौँको धार्मिक जीवनमा देवी आराधना, शक्ति उपासना र सामुदायिक सहभागितालाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।

वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ । इन्द्रजात्राको प्रमुख प्रतीकका रूपमा भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ ।

पौराणिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान् विष्णुसँग सहायता मागेका थिए । त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीक स्वरूप ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ । त्यसयता इन्द्रध्वज पूजालाई समृद्धि, शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आइएको छ ।

यस सम्बन्धी प्रसङ्ग महाभारत, वाल्मीकि रामायण, कालिका पुराण, देवी पुराण, विष्णु पुराण तथा विष्णुधर्मोत्तर पुराणमा समेत उल्लेख छ । भविष्योत्तर पुराण तथा वराहमिहिरको ‘बृहत्संहिता’मा पनि इन्द्रध्वज सम्बन्धी विधि र ज्योतिषीय पक्षको विस्तृत चर्चा गरिएको पाइन्छ ।

इन्द्रजात्राको अर्को महत्त्वपूर्ण विशेषता यसको बहुधार्मिक स्वरूप हो । परम्परागत विधि अनुसार बौद्ध शाक्य समुदायबाट छनोट गरिने बालिकालाई कुमारीका रूपमा प्रतिष्ठित गरिए पनि उनलाई हिन्दूहरूले शक्ति स्वरूप देवीका रूपमा श्रद्धापूर्वक पूजा गर्दछन् ।

यस पर्वका अवसरमा इन्द्र, भैरव, गणेश, कुमारी तथा विष्णुका विभिन्न रूप र अन्य देवीदेवता सम्बन्धी पूजाआजा एवं सांस्कृतिक प्रस्तुतिहरू एउटै मञ्चमा देख्न पाइन्छ । इन्द्रध्वजले पुरानो शास्त्रीय इन्द्रपूजा र विजय–समृद्धिको प्रतिनिधित्व गर्ने तथा कुमारी रथयात्राले जीवित देवीप्रतिको आस्थालाई जीवन्त बनाउने भएकाले इन्द्रजात्रालाई ऐतिहासिक स्मृति, पुराणीय परम्परा, संस्कृति र सामाजिक एकताको संयुक्त पर्वका रूपमा लिइन्छ ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार ००:००