मुख्य खवर

कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले चलायाे डोजर


१० चैत्र २०८१, सोमबार ००:००


काठमाडौँ, राजधानीको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका सो संरचनाहरूमा संस्थानसँगको समन्वयमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले प्रक्रिया पूरा गरेर अवैध संरचनाहरू भत्काउँदै आएको छ । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि मापदण्डविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् ।

त्यस्तै त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।

त्यसैगरी बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानुनविपरीत निर्माण भएका संरचना भत्काएको छ । गत आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काएको हो ।

यसरी भत्काइएका संरचनाअन्तर्गत सडकपेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको कामपाको भनाइ छ । अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान असन र इन्द्रचोकमा अस्तव्यस्तरूपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार ००:००