Breaking News Post

कुलमानलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन,सुरक्षाकाे व्यवस्था कडा


११ चैत्र २०८१, मंगलबार ००:००


काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राधिकरणको मुख्यालयमा सुरक्षा दिइरहेका छन् । घिसिङलाई हटाउने निर्णयको विरोधमा राजनीतिक दल, विद्यार्थी संघसंगठनदेखि सर्वसाधारणले पनि आलोचना गरिरहेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ ।

सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् । सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि जनआक्रोश बढेकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको अनुमान छ ।

आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् । त्यसैले अघिल्ला दिनको तुलनामा आज अलि बढी सुरक्षाकर्मीहरु परिचालित भएको देखिएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : ११ चैत्र २०८१, मंगलबार ००:००