कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा पुनः चयन भएसँगै नयाँ सरकारको भागवण्डा, सभामुख चयन तथा प्रतिस्थापन विधेयकको नयाँ सकस सुरु भएको छ । शपथ सँगसँगै उनले तीन मन्त्री नियुक्त गरेका छन् । अब प्रदेश सरकारमा ५ मन्त्रालयले मन्त्री पाउन बाँकी छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार गठबन्धन दलहरुले तत्कालै जसपाबाट एकजना मन्त्री नियुक्त गर्ने र अन्य मन्त्रीहरु विश्वासको मत लिएपछि मात्रै नियुक्ति गर्ने तयारी गरेको बताएका छन् । जबकि जसपा प्रदेशको नाम टुंगो नलाग्दासम्म सरकारमा सहभागी नहुने भएको छ । थापा नेतृत्वको सरकारले ३० दिन (भदौ १४ गते) भित्र विश्वासको मत लिनु पर्नेछ ।
सभामुख चयनको सकस
सरकारले विश्वासको मत लिने अवधि (३० दिन) भित्रै सभामुख चयन भएमा राप्रपालाई सभामुख दिएर प्रदेशसभाको बहुमत ४७ सांसद कायम राख्ने गठबन्धनको दाउ छ । तर, त्यसमा पनि एमालेबाटै सांसद बनेकी उपसभामुख सिर्जना दनुवार बाधक बन्ने गठबन्धनको आशङ्का छ ।
संविधानमा सभामुखको राजीनामापछि सभामुख चयनको प्रक्रिया कहिले टुंगो लगाउने भन्ने विषयमा समयावधि तोकिएको छैन । जसको फाइदा लिएर एमालेले यो प्रक्रिया अवरुद्ध गर्न सक्ने देखिन्छ ।
‘सभामुखको निर्वाचन प्रक्रिया भनेको राजनीतिक सहमति भयो भने छिटो हुन्छ नभए पछि धकेलिन्छ,’ एमाले सांसद लीलावल्लभ अधिकारीले भने, ‘सरकारले विश्वासको मत लिने अवधिसम्म जे पनि हुन सक्छ । संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख छ । सोही धाराको उपधारा (१) मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।
यस्तै उपधारा (३) मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ । तर, कति समयमा भन्ने उल्लेख छैन ।
उपधारा (४) मा प्रदेश सभामुखको अनुपस्थितिमा प्रदेश उपसभामुखले प्रदेश सभाको अध्यक्षता गर्ने र प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ ।
बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने चुनौती
यस्तै, थापा नेतृत्वको सरकारले हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नुपर्ने अर्को चुनौती रहेको छ । सभामुखबाट राजीनामा दिई नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री बनेका बाबुराम गौतमले आफू काठमाडौंमा रहेको र शुक्रबार विराटनगर फर्किएर प्रतिस्थापन विधेयक निर्माणको तयारी गर्ने बताए ।
गौतमले भने, ‘अहिले बजेटलाई अधिकतम जनताको हितमा प्रयोग गर्ने, विकास र समृद्धिलाई सहयोग पुग्ने गरी काम गर्छु । केही हेरफेर र संशोधनसहित हामी बजेट अध्यादेशलाई प्रतिस्थापन गरेर संसदमा प्रस्तुत गर्छौं । प्रदेशलाई बजेट विहीनताको अवस्थामा पुग्न नदिन गठबन्धन सरकारले प्रतिस्थापन विधेयक भदौ १० गते भित्रै प्रदेशसभाबाट पारित गरिसक्नु पर्नेछ ।
एमाले सांसद अधिकारीले आफ्नो पार्टीको नेतृत्वमा भएको सरकारले ल्याएको अध्यादेश पारित गर्न आफूहरुले सहयोग गर्ने बताए । यद्यपि उक्त बजेटलाई धेरै फेरबदल गरेको अवस्थामा अस्वीकार गर्न सक्नेसमेत बताए ।











प्रतिक्रिया