काठमाडौं, उपेश नेपालीकाे घरको आर्थिक अवस्था एकदम कमजाेर रहेकाे थियाे दिएन । उनी मजदुरी गरेर परिवार चलाइरहेका थिए । उपेश नेपालीको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथान हो । उपेश मजदुरीका लागि धुलिखेलमा थिए, तर, धुलिखेलबाट उनी घारिबथान फर्किएनन् । मजदुरीकै क्रममा करेन्टले उनको प्राण लिएकाे छ ।
उपेशको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनको धुलिखेलमा मृत्यु भयो । केही दिनअघि मात्रै उनकाे घारिबथानमा घरको छानो हावाले उडाइदिएको थियो ।
घरको छानो उडाएपछि अप्ठेरोमा परेको परियारमा अहिले ठूलो बज्रपात परेको छ । घारिबथानस्थित गोपी चोकमा रहेको उपेशको घरको छानो अहिले पनि नजिकै बारीमा अलपत्र रहेको छ ।
ईश्वरपुर नगरपालिका-१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव)ले शनिबार बिहान मात्र उपेशकी श्रीमती रश्मिलालाई सहयोगको पहल गर्न भन्दै निवेदन लिएर आउन भनेका थिए ।
त्यसैबेला दुस्खद् खबर सुनेको वडाध्यक्ष खत्रीले बताए । घरको छानो उडाएको परियारको परिवारलाई कहीँकतैबाट राहत उपलब्ध गराउन सकिन्छ कि भनी पहल गरिरहेका बेला एक्कासी दुःखद् घटना भएको खबर आयो’, वडाध्यक्ष खत्रीले भने, ‘ जेनतेन गुजारा चलाइरहेको उपेशको परिवारमा उनको मृत्युपछि थप दयनीय अवस्था सिर्जना भएको छ ।’
हावाहुरीले घरको छानो उडाएपछि सबै गाउँले मिलेर चन्दा संकलन गरी घरको छानो हाल्न सहयोग गर्ने सोच बनाइरहेका बेला उपेशको मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छिमेकी प्रदीप खत्रीले बताए ।
उपेशको घरमा बुबा, आमा, श्रीमती र दुईजना बालबच्चा छन् । उपेशको करेन्ट लागेर मृत्यु भएपछि श्रीमती रश्मिला धुलिखेल आइपुगेकी छन् । ‘उपेशको श्रीमती, मामाहरू आउनुभएको छ, उहाँहरुबाट जाहेरी लिएपछि पोष्टमार्टमको काम हुनेछ’, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले भने ।
प्रहरी निरीक्षक कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको समेत जानकारी दिए । उपेशको शनिबार बिहान ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको थियो । तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो ।










प्रतिक्रिया