गृह पृष्ठ

जरिवाना तिराउँला भनेर बसेकाे हाेइन,कार्यक्रमले सडक फोहोर नगरोस् भन्ने हाे : बालेन शाह


२५ चैत्र २०८१, मंगलबार ००:००


काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् । मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए ।

उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए । यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।

उनले अगाडि थपेका छन्, ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । महानगर प्रमुख शाहले सडक सफा गरेकोमा राप्रपालाई धन्यवाद दिंदै लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

लिङ्देनले के भनेका थिए ?

राप्रपाको कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ ।

पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए । बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु ।

प्रकाशित : २५ चैत्र २०८१, मंगलबार ००:००