Breaking News Post

झापा उडेको बुद्ध एयरको विमान काठमाडौंमा डाइभर्ट


२२ पुस २०८१, सोमबार ००:००


काठमाडौं, त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो ।

सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ । काठमाडौंबाट १०:३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित : २२ पुस २०८१, सोमबार ००:००