गृह पृष्ठ

निर्वाचन खर्च ३५ दिनभित्र पेश गर्न निर्वाचन कार्यालय सोलुखुम्बुको निर्देशन


१८ मंसिर २०७९, आइतबार ००:००


जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । कार्यालयलेसुचना जारी गर्दे प्रत्यक्ष तर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय पनि उल्लेख गर्नुपर्ने जनाएको छ ।

त्यस्तै, उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ ।

निर्वाचन प्रचार प्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेद्वारले आफै वा आफ्नो प्रतिनिधि मार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ ।

समानुपातिकतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले पनि अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र आयोगमा खर्च विवरण पेश गर्नुपर्नेछ ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार ००:००