मुख्य खवर

परिवारका सहारा थिए प्रदीप, रविन र नवीन, कमलपोखरीको विस्फोटमा अस्ताए


२ फाल्गुन २०८१, शुक्रबार ००:००


मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुर गाउँबाट डेढ महिनाअघि मात्रै काठमाडौं आएका थिए, १८ वर्षीय रविन राई उनि आर्थिक अवस्था कमजोर र घरको जेठो छोरो भएपछि उनीमाथि जिम्मेवारी थपिँदै थियो । सपना पछ्याउँदै शहर छिर्ने योजना बुनेपछि रविनले आमालाई सुनाए, ‘अब म काठमाडौं जान्छु र केही समय काठमाडौंकै कुनै होटलमा काम सिक्ने र अनि विदेश जाने योजना आमालाई सुनाएका थिए ।

केही समय होटल लाइनमा पसेर काम सिक्छु, अनि विदेश जानुपर्ला भनेर उनी घरबाट बिदा भएका थिए । किशोरावस्थामै उत्साह र जिम्मेवारी बोकेर रविन काठमाडौं आए । कमलपोखरीस्थित शान्दार मःम पसलमा काम पाए ।

विदेश जाने सपना बोकेका उनलाई मःम पसलबाट काम सिक्नु थियो । काठमाडौंमा रहुन्जेल दैनिकी सहज बनाउन आम्दानीको बाटो त छँदै थियो । काम पाएपछि रविनले आमालाई तुरुन्तै भनिहाले । छोराले काठमाडौंको होटलमा जागिर पाएको सुनेर आमाबुवा नै खुसी थिए । काम गर्न थालेको मलाई त भनेको थिएन, आमाबाट थाहा पाएँ,’ बुवा राजकुमार सुनाउँछन्, ‘छोराले काम गर्न थालेपछि हामी पनि खुसी थियौं ।’

तर, उनीहरूको खुसी लामो टिकेन । गत माघ २४ गते बिहान पौने ९ बजे । उनले काम गर्न थालेको मःम पसलमा सिलिन्डर ग्यास विस्फोट भयो । विस्फोटमा परेर रविनसहित ११ जना गम्भीर घाइते भए । उपचारकै क्रममा गत सोमबार रविनसहित उदयपुरको कटारी नगरपालिका-८ का भीमबहादुर (नवीन) घले मगर कीर्तिपुर अस्पतालमा अस्ताए ।

उमेर ढल्कँदै गएका आमाबुवा, हुर्कंदै गरेका तीन भाइ-बहिनीसहित रविनका सपना पनि अस्ताएका छन् । कटारीको गालटारका नवीन पनि सोही पसलमा काम गर्थे । उनी काठमाडौंकै गैरिधारामा डेरा गरेर बस्थे । उनले शान्दार मःममा काम गर्न थालेको ८/९ वर्ष भइसकेको थियो । नवीनको निधनपछि श्रीमती साहराविहीन बनेकी छिन् । ४ वर्षीय छोराले कलिलेमै बुवा गुमाएका छन् ।

१८ वर्षीय कलिलो छोरो गुमाएका बुवा राजकुमारलाई घरको ‘खाँबो’ नै भाँच्चिएजस्तो अनुभूति भएको छ । ‘उसको सपनासँगै हाम्रो पनि सपना हरायो,’ राजकुमार भावुक हुँदै सुनाउँछन्, ‘घरको खाँबो नै भाँच्चिएको जस्तो भएको छ ।’

रविन राजकुमारका पहिलो सन्तान हुन् । रविनपछि छोरी र त्यसपछि जुम्ल्याहा छोराछोरी जन्माएका राजकुमार चाहिँ ड्राइभिङ पेसामा छन् । रविन पहिला पनि काठमाडौं बसेका थिए । ८ कक्षामा पढ्दापढ्दै काठमाडौं आएका उनी पछि गाउँ नै फर्किएका थिए ।

डेढ महिनाअघि मात्रै काठमाडौं आएका छोरा सम्झँदै राजकुमार थप्छन्, ‘पहिले पनि केही समय काठमाडौं बसेर गाउँ फर्किएको थियो । उतै हामीलाई सघाएर बसिराखेको थियो । बरु काठमाडौं नआएको भए हुन्थ्यो ।’

कटारीका नवीन पनि घरका जेठा छोरा हुन् । उनका एक भाइ छन् । भाइ पनि काठमाडौंतिरै कामकाजमा लागेका छन् । घरजम गरेर बसेका नवीनले केही वर्षअघि बिहे गरेका थिए । ४ वर्षका छोरा छन् उनका । नवीनकी श्रीमती जानकी अत्तालिएकी छिन् । दुखेसो पोख्दै उनले भनिन्, ‘मैले त काम पनि केही जानेको छैन, बाबु पनि सानै छ, उहाँ पनि‘९बोली अड्कियो० ।’

श्रीमान् बितेको दिनदेखि उनको सबै सहारा गुमेजस्तो भएको छ । छोराको मृत्युको खबर सुनेपछि आमाबुवा पनि काठमाडौं आएका छन् । छोरा गुमाएका उनीहरू बोल्न सक्ने अवस्थामा छैनन् । जुन पसलमा काम गर्दागर्दै भएको विस्फोटमा रविन र नवीनले ज्यान गुमाए, त्यही पसल सञ्चालकसँग क्षतिपूर्ति माग गर्दै दुई दिनसम्म प्रहरी कार्यालय धाउनुपर्‍यो ।

मालीगाउँस्थित प्रहरी वृत्तमा मृतकका आफन्त र मःम पसल सञ्चालकबीच भएको कुराकानीपछि बिहीबार साँझ बल्लतल्ल कुरा मिलेको छ । अकालमै ज्यान गुमाएका रविन र नवीनको परिवारसँग क्षतिपूर्तिको विषयमा सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले भने, ‘उहाँहरू कसरी मिल्नुभयो हामीलाई थाहा भएन । तर शव बुझिसक्नुभएको जानकारी आएको छ ।’ ४ दिनदेखि अलपत्र परेको उनीहरूको शव भोलि (शुक्रबार) दाहसंस्कार हुने परिवारका सदस्यहरू बताउँछन् ।

उनीहरूको शव हिजो (बुधबार) कीर्तिपुरस्थित बर्न अस्पतालबाट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ । ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् । उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो । सोही विस्फोटमा घाइते भएका अन्यको उपचार जारी छ ।

प्रकाशित : २ फाल्गुन २०८१, शुक्रबार ००:००