Breaking News Post

पूर्वाधारमा पछिल्लो बाढीको क्षति कति ?


१२ आश्विन २०८३, सोमबार ००:००


१२ असोज, काठमाडौं । ९ असोजयता बाढीले सडक, पुल, खानेपानी, ऊर्जा लगायत पूर्वाधारमा ठूलो क्षति गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार वर्षा र बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी पोखरेबगर, बागलुङ मालढुंगा तथा तनहुँ नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ । कालीगण्डकीको पक्की पुल बगाएको छ ।

कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा देखिएको छ ।

डुम्रे बेँसीसहर चामे सडकखण्ड अन्तर्गत रामबजार स्याङ्गे लमजुङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्णरूपमा भासिएको छ । नासो, खोत्रो मनाङमा ढुंगासहित पहिरोका कारण सडक अवरुद्ध छ । नासो, बगरछाप मनाङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्णरूपमा भासिएको छ ।

चामे मनाङमा बाढीका कारण तीन अस्थायी काठे पुल बगेका छन् । बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्ग सहित जिल्लाका दर्जनभन्दा बढी सडकमा क्षति पुगेको छ ।

बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ–पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्णरूपमा क्षति पुगेको छ । तनहुँ घिरिङ करुवाटार–नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जा गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ–साठीबजार जोड्ने झोलुङ्गे पुल, पाल्पा कासिबन–तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत–स्याङ्जा जोड्ने सेतीवेणी झोलुङ्गे पुल तथा म्याग्दी बेनी–पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक  क्षति पुगेको छ ।

बाढी र पहिरोले ३१ खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । मन्त्रालयका अनुसार सडक पुन: सुरु गर्ने काम हिजोदेखि नै सुरु भएको छ । आज विभिन्न खण्डमा धमाधम काम भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलविद्युत् आयोजनामा समेत बाढीले ठूलो क्षति गरेको छ । जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्ब ६९ करोड बराबर क्षति भएको प्रारम्भिक विवरण छ ।

यस बाढीले ७ सय ८३ मेगावाट क्षमता बराबरको जलविद्युत आयोजना प्रभावित भएका छन् । यसमध्ये कालीगण्डकी जलविद्युत् आयोजना आजदेखि सञ्चालनमा ल्याउने योजना छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगातार वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिसँग आइतबार छलफल गरेका थिए । बाढी र पहिरोका कारण देशभरि जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग नागरिकको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका विषयमा छलफल गरेका छन् ।

छलफलमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवास व्यवस्था तथा क्षतिग्रस्त संरचना पुनर्निर्माण कार्य तत्काल अघि बढाउने विषयमा छलफल भएको छ ।

मन्त्री लम्सालले पछिल्लो तीन दिनको बाढी र वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुङ्गे पुल, खानेपानी लगायत आयोजनाको क्षति मूल्यांक गरी तत्काल बजेट व्यवस्थापन गरेर टेन्डर प्रक्रिया मार्फत पुनर्निर्माणको काम अघि बढाउने बताए । उनले  असोज भित्रै पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : १२ आश्विन २०८३, सोमबार ००:००