काठमाडौँ, चैत १५ मा पूर्व राजाको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एक जना युवकले सशस्त्र प्रहरी बलको ग्याँस गन लुटे । अश्रुग्याँस प्रहार गर्न प्रयोग हुने ग्याँस गन लुटेको आरोपमा गोपाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके घर भएका मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौँले राज्य विरुद्धको कसुर र सङ्गठित अपराध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ग्यास गन सशस्त्र प्रहरीको नम्बर–२१ दक्षिणकाली गणबाट खटिएका सुरक्षाकर्मीको हातबाट प्रदर्शनकारीले लुटेका हुन् ।
ग्यास गन अहिलेसम्म भेटिएको छैन । गन लुटेको आरोपमा पक्राउ परेका मल्लले प्रहरीसँग भनेका छन्, ‘मेरो हातबाट अरू साथीहरूले हेर्न भनेर खोसेर लिए । आफ्नो हातबाट खोसेपछि भिडमा सो गन कहाँ पुग्यो भन्नेबारे आफूलाई थाहा नभएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
बाँके घर भएर काठमाडौँ बस्दै आएका मल्ल फुटपाथमा आइसक्रिम बेचेर गुजारा चलाउँछन् । कागेश्वरी मनोहरामा आईसक्रिम बेच्ने उनी त्यसदिन आफ्नो काम छाडेर पूर्व राजाको समर्थनमा आयोजित प्रदर्शनमा गएको पाइएको छ । ग्याँस गन खोसेकोबारे उनले भनेका छन्, ‘सशस्त्रको हातबाट पनि भुँइमा खसेको थियो, त्यसपछि मैले टिपेको हुँ ।’











प्रतिक्रिया