‘सडक र पुल हुँदाजस्तो सुविधा त तुइनले के दिन्थ्यो र ! तर पनि १९ दिनसम्म हिँडडुल गर्न नपाएका मानिसहरू अहिले आउजाउ गर्न पाइरहेका छन्,’ तुइन सञ्चालन टोलीको नेतृत्व गरिरहेका प्रहरी सहायक निरीक्षक रामप्रवेश पटेलले भने।
उनका अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रहरीले नै तुइन चलाउने गरेको छ। ‘भौगोलिक रूपमा विकट ठाउँ भएकाले हामी आफैंले तुइन चलाउन सहयोग गरिरहेका छौं,’ उनले भने।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङनजिकै राखिएको तुइनमा चढ्न र ओर्लन सहज होस् भनेर फलामे सिँढी बनाउने काम पनि चलिरहेको थियो।
‘तुइन चढ्न र ओर्लन सहज होस् भनेर काम गरिरहेका छौं,’ नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले भने।
सडक र पुल बगेपछि लामो समयदेखि थुनिएका स्थानीयका लागि तुइनले केही राहत दिएको त्यहाँ लागेको भीडबाटै अनुमान गर्न सकिन्थ्यो।
प्रहरीका अनुसार दैनिक ४० जनासम्म तुइनबाट भोटेकोसी वारपार गरिरहेका छन्। बाढीले स्याफ्रुबेसी बजारसहित ठूलो क्षेत्र बगाएपछि धेरै विस्थापितलाई काठमाडौंलगायत अन्यत्र सारिएको अवस्थामा यो संख्या उल्लेख्य हो।











प्रतिक्रिया