११ भदौ, काठमाडौं । रसुवाको बाढीले घर, बाटो, पुल र बजार मात्रै बगाएन, कति परिवारका मान्छे कहाँ छन् भन्ने खबरसमेत बगायो ।
कोही आफन्त घाइते भएर कुन अस्पतालमा छन् भन्ने थाहा छैन । कोही जिउँदै छन् कि छैनन् भन्ने खबर पर्खिरहेका छन् ।
नाम भेटिएन भने फेरि अर्को अस्पतालतिर लाग्छन् ।
उनीहरूका लागि अहिले अस्पताल उपचार गर्ने ठाउँ मात्रै होइन, हराइरहेका आफन्तको खबर खोज्ने ठाउँ पनि बनेको छ । बिरामीको उपचारत आफन्तको भन्दा बढी त्यहाँ हराएको परिवारको सदस्यको खोजी गर्न आउनेको भिड अस्पतालमा छ ।
ट्रमा सेन्टरमा २० घाइते, एक डिस्चार्ज, एकको शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार अस्पतालले उपचारका लागि आएका घाइतेको विवरण आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ ।
उनका अनुसार हालसम्म २० जना घाइते ट्रमा सेन्टरमा उपचारका लागि आएका छन् । तीमध्ये एक जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको शल्यक्रिया भइसकेको छ । बाँकी बिरामीको अवस्था सामान्य रहेको निरौलाले जानकारी दिए ।
‘अहिलेसम्म २० जना आउनुभएको छ । एक जना डिस्चार्ज भइसक्नुभएको छ, एक जनाको अप्रेसन भइसकेको छ । अरूको अवस्था सामान्य नै छ,’ उनले भने ।
अस्पतालमा उपचाररत बिरामीका आफन्तहरू भने बाहिरै छन् । बिरामीलाई भेट्न चाहने आफन्तलाई सुरक्षा व्यवस्थापनमार्फत सम्बन्धित बिरामीसँग चिनजान गराउने व्यवस्था गरिएको उनले बताए ।
अस्पतालले आकस्मिक अवस्थालाई ध्यानमा राखेर उपचारको व्यवस्था मिलाएको छ । विपद्का कारण एकै पटक धेरै घाइते आउन सक्ने भएकाले अस्पतालले सुरुदेखि नै तयारी अवस्थामा रहने गरेको निरौलाको भनाइ छ ।
‘विपद् भयो भन्ने बित्तिकै अस्पताल अलर्ट हुन्छ’
निरौलाका अनुसार कुनै ठाउँमा ठूलो दुर्घटना वा विपद् भएको सूचना आउनासाथ अस्पतालको टोली तयारी अवस्थामा बस्छ ।
‘कुनै ठाउँमा विपद् भयो, बस दुर्घटना भयो वा धेरै बिरामी आउँदैछन् भन्नेबित्तिकै हामी अलर्ट हुन्छौँ,’ उनले भने ।
त्यसैले, यस पटक पनि घाइतेहरू आउन थालेपछि उपचार व्यवस्थापनलाई तत्काल सक्रिय बनाइएको छ । बेडको अभाव हुने अवस्था नरहेको र बिरामीको उपचारमा समस्या नहोस् भनेर अस्पतालले व्यवस्थापन गरिरहेको उनले बताए । घाइतेहरूको उपचार नि:शुल्क भइरहेको पनि उनले जानकारी दिए ।
तर, अस्पतालमा उपचार भइरहँदा बाहिरको दृश्य भने अर्कै छ । आफन्तहरू बिरामी भेट्न र उनीहरूको अवस्था बुझ्न अस्पताल परिसरमा जम्मा भइरहेका छन् । कसैसँग बिरामीको नाम छ, कसैसँग नामसमेत छैन । कतिपय आफन्तलाई आफ्नो मान्छे कुन अस्पतालमा छ भन्ने निश्चित जानकारीसमेत छैन ।
वेबसाइट र सूचीमा नाम खोज्दै आफन्त
घाइतेको विवरण अस्पतालको वेबसाइट तथा सामाजिक सञ्जालमा राखिए पनि आफन्तका लागि त्यो विवरण खोज्नु पनि एउटा संघर्ष बनेको छ ।
मोबाइलको पर्दामा अस्पतालले राखेको विवरण स्क्रोल गर्दै आफन्तहरू आफ्नो मान्छेको नाम खोजिरहेका छन् ।
काभ्रे घर भएका दिनेश श्रेष्ठ सम्पर्कविहीन छन् । उनका आफन्त कहिले वीर, कहिले ट्रमा त कहिले त्रिवि शिक्षण अस्पताल धाइरहेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै दिनेशका आफन्तले भने, ‘हामीले अस्पतालको सूचीमा र वेबसाइटमा नाम भेटेनौं । त्यसैले, अस्पतालको ढोकाढोका चहार्नु बाहेकको विकल्प छैन ।’
उनी थप्छन्, ‘भन्सारबाट दशैंका लागि सामान ल्याउन गएको सालोभाइको अत्तोपत्तो छैन । तर अझै आश मारेका छैनौं । त्यसैले उद्धार टोलीको एम्बुलेन्स कुर्दै बसिरहेका छौं ।’
ट्रमा सेन्टरले भने उपचारका लागि आएका बिरामीको विवरण सार्वजनिक गरिरहेको जनाएको छ । आफन्तले वेबसाइट तथा फेसबुक पेजमार्फत पनि जानकारी लिन सक्ने व्यवस्था गरिएको सूचना अधिकारी निरौलाले बताए ।
बिरामी भेट्न अस्पतालभित्र जान भने सुरक्षा व्यवस्थाका कारण सहज छैन । तर सम्बन्धित बिरामीका आफन्तलाई सुरक्षा गार्डमार्फत चिनाएर भेटघाटको व्यवस्था मिलाउन सकिने उनले बताए । अस्पतालको एउटा गेटभित्र घाइतेको उपचार चलिरहेको छ । त्यही गेट बाहिर आफन्तहरू आफ्नो मान्छेको खबर पर्खिरहेका छन् ।
ट्रमाको रसुवा प्रभावित डेस्कमा आएर आफन्तहरू सोध्छन्, ‘कुनै सूचीमा भेटिँदैन । मेरो मान्छे कहाँ छ ?’
शिक्षण अस्पतालमा पनि घाइतेको चाप
त्रिवि शिक्षण अस्पतालमा पनि ४१ जना घाइते उपचाररत छन् । त्यहाँ बिरामीलाई अवस्थाअनुसार हरियो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेर उपचार भइरहेको छ ।
पाँच वर्षका बालबालिकादेखि ५० वर्ष आसपासका व्यक्तिसम्म उपचारका लागि आएका छन् । केही सामान्य अवस्थामा छन् भने केही गम्भीर अवस्थामा छन् । दुई जना बिरामी भेन्टिलेटरको सहायतामा उपचाररत रहेको अस्पतालले जनाएको छ ।
बिरामीसँगै धेरै आफन्त राख्दा संक्रमणको जोखिम
त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोपाल सेढाईं एकै पटक धेरै घाइते आउँदा अस्पतालले उपचारसँगै संक्रमणको जोखिमलाई पनि ध्यान दिनुपर्ने बताउँछन् ।
घाइतेसँगै धेरै आफन्तलाई उपचारस्थलमै राख्दा संक्रमण फैलिने जोखिम बढ्न सक्ने र त्यसले गम्भीर अवस्थामा रहेका बिरामीमा थप समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।
त्यसैले, बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै आफन्तको आवतजावत व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
बिदाको दिन पनि चिकित्सक खटाउने तयारी
उद्धार कार्य जारी रहेकाले अझै धेरै घाइते उपचारका लागि आउन सक्ने अनुमान अस्पतालहरूले गरेका छन् । त्यसलाई ध्यानमा राखेर त्रिवि शिक्षण अस्पतालले बिदाको दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने तयारी गरेको छ ।
सरकारले विपद्का घाइतेको नि:शुल्क उपचार गर्ने भने पनि अस्पतालमा आवश्यक उपकरण तथा उपचार सामग्रीको व्यवस्थापनमा केही चुनौती रहेको चिकित्सकहरू बताउँछन् । एकैपटक धेरै घाइते आउँदा नियमित स्रोतसाधनमा दबाब पर्न सक्छ ।
घाइतेसँगै पहिचान नखुलेका शव
बाढीबाट प्रभावित भएकामध्ये १० जनाको शव त्रिवि शिक्षण अस्पतालमा आइपुगेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका शवमध्ये एक जनाको मात्र पहिचान खुलेको छ । ९ जनाको पहिचान हुन बाँकी छ ।
शवलाई अस्पतालको फोरेन्सिक विभागमा राखिएको छ । शरीरमा धेरै घाउ लागेको, सुन्निएको, माटोले पुरिएको र पानीमा भिजेकाले अधिकांश शवको प्रत्यक्ष पहिचान गर्न कठिन भएको रोस्याराले बताए ।
‘पहिलो चरणमा शवको फोटो सार्वजनिक गरेर आफन्तमार्फत पहिचान गर्ने प्रयास गर्छौं,’ रोस्याराले अनलाइनखबरसँग भने, ‘फोटो हेरेर आफन्तले आफ्नो मान्छे भएको दाबी गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर पहिचान पुष्टि गर्छौं ।’
अस्पतालको गेट बाहिर एउटा प्रश्न
बाढीले बस्तीबाट मान्छे छुटाएको छ । परिवारबाट आफन्त छुटाएको छ । अनि, सबैबाट सम्पर्क छुटाएको छ ।
अहिले अस्पतालमा कोही शरीरभरि चोट बोकेर जीवनसँग लडिरहेका छन् । कोही भेन्टिलेटरको सहारामा छन् । कोही माटोले पुरिएको शरीर लिएर शय्यामा पल्टिरहेका छन् । अनि अस्पतालको गेटबाहिर उनीहरूका परिवार छन् ।
कसैको हातमा मोबाइल छ । पटक–पटक अस्पतालको वेबसाइट हेर्छन् । घाइतेको सूचीमा आफ्नो मान्छेको नाम खोज्छन् । नाम भेटिएला कि भनेर फेरि स्क्रोल गर्छन् । कसैलाई आफ्नो मान्छे जीवित छ भन्ने खबर चाहिएको छ । कसैलाई ऊ कुन अस्पतालमा छ भन्ने थाहा पाउनु छ । कसैलाई अस्पतालको शय्यामा पुगेर एक पटक अनुहार हेर्नुछ ।
बाढीले धेरै कुरा बगाएको छ । तर अस्पताल अहिले धेरै परिवारका लागि आशा बाँकी रहेको ठाउँ बनेको छ ।
उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।
उनीहरूलाई अहिले ठूलो कुरा चाहिएको छैन, ‘आफ्नो मान्छे कहाँ छ, जिउँदो छ कि छैन, यति मात्रै थाहा पाउनु छ ।









प्रतिक्रिया