Breaking News Post

बालेन शाहको सचिवालयले उनको कार्यकक्षमै ताला


२० चैत्र २०८१, बिहिबार ००:००


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन जाने भएपछि महानगर प्रहरीको टोली उनलाई रोक्न खटाइएको छ । अहिले महानगरपालिका वरपर नगर प्रहरी खटाइएको छ । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।

उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ ।

छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ५ पुसमा पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए ।

नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी सदस्य छन् ।

१७ पुससम्म बिदामा बसेका गुरागाईं कार्यालय आउने तयारी गरेपछि त्यतिबेला पनि मेयर बालेन शाहको सचिवालयले उनको कार्यकक्षमै ताला लगाइदिएको थियो । वातावरण नबनेपछि कार्यालय नपुगेका उनी बिहीबार पुन जाने तयारी गरेका हुन् ।

प्रकाशित : २० चैत्र २०८१, बिहिबार ००:००