गृह पृष्ठ

बिपी राजमार्गमा ४ दिनदेखि फसेका यात्रुहरुले सरकारप्रति चर्को आक्रोश पोख्दै


१७ आश्विन २०८१, बिहिबार ००:००


काठमाडाैँ, बाढी पहिरोका कारण काभ्रेको नार्के, कालढुंगा र आँपटारी भन्ने ठाउँमा ४९२ सवारी साधनका करिब ६ सय यातायात मजदुर अहिलेसम्म फसिरहेका छन् । आज करिब पाँच दिन भयो । रोशीदेखि मुलकोटसम्म विभिन्न ठाउँमा बाटो भत्किएको छ । सबै जोड्दाखेरि विभिन्न ठाउँमा साढे ४ किलोमिटर बाटो भत्किएको छ । विशेष गरी तीन ठाउँमा यातायात श्रमिकहरु फस्नुभएको छ ।

असोज १० गते सबै गाडीहरु झापा, मोरङ र सुनसरीबाट काठमाडौंका लागि छुटे । काठमाडौंबाट पूर्व जाने गाडीहरु कमै छन्, तर उताबाट काठमाडौं आउनेहरु धेरै परेका छन । उहाँहरुको उद्धारका लागि हामीले सरकारसँग हारगुहार गरिरहेका छन । अहिले त्यहाँ विशेष गरी खानेपानीको समस्या छ । अन्य खाद्यान्नको अभाव भएको छ । त्यस्तै शौचालयको पनि ठूलो समस्या छ । खुल्ला ठाउँमा दिसा–पिसाब गर्नुपर्ने अवस्था छ । यसले स्वास्थ्यलाई पनि असर पर्ने स्थिति देखिन्छ ।

सुरुमा त्यो बाटोमा ५/७ हजार मानिसहरु फसेका थिए । प्रायः यात्रुहरु पैदलै हिँडेर काठमाडौं छिरिसक्नुभएको छ । कतिपयलाई हेलिकोप्टरबाट पनि रेस्क्यु गरियो । तर, यातायात मजदुरहरुले सवारी साधन छाडेर हिँड्न मिलेन । उहाँहरु त्यहीँ बसिरहनुपर्ने भयो । त्यसो हुनाले उहाँहरु गाडीमै बसिराख्नुभएको छ ।

उहाँका अनुसार अहिले त्यहाँको स्थिति अत्यन्तै नाजुक छ । त्यहाँ साथीहरुसँग भएको पैसा पनि सिद्धियो । खाद्यान्न पनि छैन । र, त्यहाँ सहयोग लिने ठाउँ पनि सकियो । त्यसो भएको हुनाले हामीलाई जतिसक्दो चाँडो उद्धार गर्नुपर्‍यो, उद्धार नहुँदासम्म खाद्यान्नको व्यवस्था गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ रहेकाे छ ।

अहिले मजदुरहरुलाई उद्धार गर्नुपर्छ भन्ने कुरा हो । उद्धार गर्नका लागि बाटो बनाउनुपर्‍यो । यो बाटो एउटा मजदुरको उद्धारसँग जोडियो, अर्को दशैंमा पूर्व जाने यात्रुहरुको जीवनसँग जोडियो । यी दुईवटै कुरालाई हेरेर सरकारले प्राथमिकताका साथ भत्किएको बाटो पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । कतै डाइभर्सन बनाएर जान सकिने ठाउँ छ भने त्यो बनाउनुपर्छ । अब राज्यले आफ्नो समग्र स्रोत साधन र शक्ति त्यहाँ प्रयोग गर्नुपर्ने अवस्था रहेकाे छ ।

बुधबार पनि यातायात व्यवसायी महासंघका पदाधिकारी, हेभी इक्युपमेन्ट महासंघका पदाधिकारी र प्रमुख तीनदल सम्वद्ध यातायात मजदुर संगठनका पदाधिकारीले संयुक्त रुपमा गृहमन्त्री रमेश लेखकलाई भेटेर मजदुरहरुको तत्काल उद्धारका लागि पहल गर्ने साथै, दशैंको टीकाअघि नै बाटो मर्मत गर्न गृहमन्त्रीलाई समेत याे जानकारी गराइएकाे छ ।

गृहमन्त्रीले काभ्रे र धादिङका सिडियोलाई फोन गरेर बाटोमा फसेका यातायात मजदुरलाई उद्धार नहुञ्जेल सरकारका तर्फबाट खाने, बस्ने प्रवन्ध गर्न निर्देशन दिनुभयो । त्यस्तै, भौतिक पूर्वाधार मन्त्री दाहालले पनि बन्द भएकै दिनदेखि मन्त्रालयका तर्फबाट पुननिर्माणको काम प्रारम्भ गरेको बताउनुभएको छ ।

यसका लागि सेनासँग पनि हारगुहार मागिएको उहाँले हामीलाई बताउनुभएको छ । सेनाले केही राहत पनि लिएर गएको भनिएको छ । मानवीय सम्वेदनाको हिसाबले हेर्ने हो भने पूर्वबाट आउँदा यात्रुहरुले गाडीमा ल्याएको चामल साथीहरुले पकाएर खानुभयो । अहिले त्यो पनि सिद्धिएको अवस्था छ । वर्तिर पर्तिर गाउँबाट लिन सक्ने सहयोग पनि सबै सिद्धियो ।

सरकारले त्यहाँ बाटो मर्मतका लागि स्काभेटर, तेल र स्टाफहरुका लागि केही खाद्यान्न पनि पठाइएको जानकारी गराएको छ । तर पैदलयात्रीकाे भने निकै कष्टकार रूपमा पहिराेलाइ छिचाेलेर त्यहाँ सम्म अाइपुगेकाे यात्रीहरूकाे भनाइ रहेकाे छ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार ००:००