आर्थिक

बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने


१९ फाल्गुन २०८१, सोमबार ००:००


काठमाडौं, प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने तयारी गरेको छ। ‘यो विषयमा छलफल भएको छ । कानुनी सल्लाह गरेर सुधार गर्छौं’, त्रिविकारजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले भने ।

बेतलबी बिदालाई सेवा अवधिमा जोडेर भटाभट प्राध्यापक र कर्मचारीले पेन्सन लिइरहेको समाचार सार्वजनिक भएको थियो । बेतलबी बिदालाई सेवा अवधिमा जोड्न नपाइने नियम त्रिविको छ । तर, २०६८ वैशाख ८ भन्दा अगाडि बिदामा बसेका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई जोडेरपेन्सन लिइरहेका छन् ।

त्रिविको पुनरावेदन आयोगले फैसाल गरेको रहेछ। आयोगले गरेको फैसलाको अध्ययन गरेर गल्तिलाई सुधार गनुपर्छ । अहिलेको कार्यकारीले गरेको निर्णय पनि होइन,’ रजिस्ट्रार रिजालले भने ।

त्रिविको पुनरावेदन आयोगले २१ असार २०७५ मा आयोगकै शाखा अधिकृत विमल रिमालले लिएको बेतलबी बिदालाई पनि गणना गरी पेन्सनपट्टा जारी गरिदिने फैसला गरेको थियो । सोही नजिरलाई देखाएर प्राध्यापक शंकर भण्डारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सनपट्टा बनाएका थिए ।

भण्डारीको निवेदनको आधारमा तत्कालीन कार्यकारी परिषद्ले ११ माघ २०७६ मा २०६८ वैशाख ८ भन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय गरेको थियो । यसैको आधारमा १२६ प्राध्यापकले बेतलबी बिदालाई जोडेर पेन्सन लिइरहेका छन् । यसरी पेन्सन लिनेमा बहालवाला तथा पूर्वपदाधिकारी समेत संलग्न छन् । यसले त्रिविलाई आर्थिक नोक्सानी भइरहेकोछ ।

प्रकाशित : १९ फाल्गुन २०८१, सोमबार ००:००