महाकुलुङ गाउँपालिकाले काठमाडौबाट प्रशासनिक सेवा दिने भएको छ । महाकुलुङ गाउँपालिकाको स्थायी बासिन्दा भई हाल काठमाडौँमा विभिन्न पेशा/व्यवसायमा संलग्न रहँदै आएका नागरिकहरूलाई लक्षित गरी प्रशासनिक सेवा प्रवाहका लागि विशेष प्रशासनिक शिविर सञ्चालन हुने भएको हो ।
गाउँपालिकाको कार्यालय र मातहतका ५ वटै वडा कार्यालयको समन्वयमा विविध प्रशासनिक सेवाहरू समेटिने गरी साउन २२ गतेदेखि २४ गतेसम्म (तीन दिन) शिविर सञ्चालन हुने तय गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत हरिलाल कुलुङले जानकारी दिनुभएको छ ।
उक्त निर्णय गाउँपालिकाको साउन ७ गते बसेको कार्यपालिकाको बैठकले गरेको हो। सो शिविर कुलुङ शेर्वी किदुकको समन्वयमा हुने जनाइएको छ । शिविर गोकर्णेश्वर नगरपालिका–६, काठमाडौँस्थित शेर्पा पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
सेवाग्राहीहरूले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा लिन सक्नेछन । गाउँपालिकाले विशेष गरी स्थायी बासिन्दा तर हाल काठमाडौँमा बसोबास गरिरहेका नागरिकहरूलाई लक्षित गरी यो शिविर सञ्चालन गर्न लागेको हो। शिविरमा नागरिकता, सिफारिस, अभिलेख, प्रमाणपत्र जस्ता आवश्यक प्रशासनिक सेवा उपलब्ध गराइनेछ ।











प्रतिक्रिया