ताजा घटना

महामन्त्री धवलशमशेरलाई धरौटीमा छाड्न आदेश


२ असार २०८२, सोमबार ००:००


काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि फरार रहेका थिए ।

राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

प्रकाशित : २ असार २०८२, सोमबार ००:००